नेपालगञ्जको वेष्टर्न मार्टमा आगलागी, दमकलको सहायताले नियन्त्रणको प्रयास जारी

बाँके / नेपालगञ्ज, सुर्खेत रोडस्थित प्रख्यात वेष्टर्न मार्टमा अहिले केहीबेर अघि आकस्मिक आगलागी भएको छ। स्थानीय बजार क्षेत्रमा अवस्थित उक्त मार्टमा एकाएक आगो सल्किएपछि त्यहाँ त्रास फैलिएको हो।
आगलागीको सूचना पाउनासाथ दमकलको टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको छ। दमकल र स्थानीय बासिन्दाको सक्रिय सहभागितामा आगो फैलिन नदिन ठूलो प्रयास भइरहेको छ। घटनास्थलमा प्रहरी प्रशासन पनि परिचालन गरिएको छ।
प्रारम्भिक जानकारी अनुसार आगलागीमा परी मानवीय क्षति भएको भन्ने खबर छैन, तर सामान तथा भौतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने आशंका गरिएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।
घटनाको थप विवरण आउन बाँकी छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन खटिरहेका छन्।





