अदालतको फैसलाको अपहेलना गर्दै ट्रम्पद्वारा पुनः १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

वासिङ्टन, फागुन ९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतले आपतकालीन भन्सार शुल्कलाई अवैध घोषणा गरेको केही घण्टामै पुनः विश्वव्यापी रूपमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका छन्। शुक्रबार ह्वाइटहाउसबाट जारी गरिएको आदेशमा ट्रम्पले अदालतको फैसलालाई ‘भयानक’ भन्दै अस्वीकार गरे र नयाँ व्यापार नीति अघि बढाउने बताए।
सर्वोच्च अदालतको ९ न्यायाधीशको पूर्ण इजलासले ६–३ को बहुमतले गत वर्ष ह्वाइटहाउसले लागू गरेका अधिकांश विश्वव्यापी भन्सार शुल्कहरू अवैध ठहर गरेको थियो। अदालतको फैसलामा राष्ट्रपति आफ्नो अधिकारको सीमाभन्दा बाहिर गएको उल्लेख थियो। यो फैसला ती शुल्कविरुद्ध मुद्दा दायर गरेका व्यवसायी र अमेरिकी राज्यहरूका लागि ठूलो सफलता मानिएको थियो, जसले अर्बौं डलर कर फिर्ताको बाटो खोलेको थियो।
तर अदालतको फैसलाको केही घण्टामै ट्रम्पले पुनः १० प्रतिशत शुल्क लगाउने निर्णय गर्दै विश्वव्यापी व्यापारिक वातावरणमा नयाँ अनिश्चितता थपेका छन्। ह्वाइटहाउसबाट बोल्दै ट्रम्पले भने, ‘हामीसँग विकल्पहरू छन्, उत्कृष्ट विकल्पहरू प्रयोग गर्ने छौं र अझ बलिया हुनेछौं।’ उनले अमेरिकी अर्थतन्त्रमा लगानी र उत्पादनलाई प्रोत्साहन गर्न भन्दै भन्सार शुल्कहरू अघि बढाउन अन्य कानुनको सहारा लिने संकेत गरे।
यसअघि ट्रम्पले अदालतको फैसलाप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीशहरूलाई ‘मूर्ख’ भनेका थिए। उनले यो विषय वर्षौंसम्म अदालतमा अड्किरहने र कानुनी लडाइँबिना भन्सार शुल्क फिर्ता नआउने पनि बताए।
गत वर्ष अप्रिलमा ट्रम्पले ‘लिबरेसन डे’ को नाममा दर्जनौं व्यापार साझेदार देशहरूमा व्यापक भन्सार शुल्क लगाएका थिए। सुरुमा यी शुल्क मेक्सिको, क्यानडा र चीनलाई लक्षित थिए। तर अदालतको फैसलाले ती शुल्कहरूलाई अवैध ठहर गरेपछि ट्रम्पको नयाँ कदमले व्यापार युद्धको पुनरावृत्ति हुने सम्भावना बढेको छ। विश्लेषकहरूले ट्रम्पको यो निर्णयले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा थप तनाव निम्त्याउने चिन्ता व्यक्त गरेका छन्।





