अन्तर्राष्ट्रिय मञ्चमा भारतको छवि धूमिल पार्न खोज्नु दुर्भाग्यपूर्ण : गोर्खा जनमुक्ति मोर्चाद्वारा कांग्रेसको कडा निन्दा

दार्जिलिङ । गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले ग्लोबल साउथमा आयोजित पहिलो एआई इम्प्याक्ट समिटको अवसरमा भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस) ले भारतको छवि धूमिल पार्ने प्रयास गरेको घटनाको कडा भर्त्सना गरेको छ। समितिले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई देशप्रति गैरजिम्मेवार र निन्दनीय करार गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “भारत जस्तो उदाउँदो विश्व शक्ति राष्ट्रले कृत्रिम बुद्धिमत्ता (एआई), प्रविधि र नवप्रवर्तनको क्षेत्रमा आफ्नो नेतृत्व प्रस्तुत गरिरहेको गौरवमय क्षणमा, कांग्रेसजस्तो पुरानो पार्टी राष्ट्रिय हितभन्दा माथि उठ्न नसकी अन्तर्राष्ट्रिय मञ्चमै देशविरुद्ध नकारात्मक सन्देश फैलाउनु अत्यन्त दुःखद हो।”
गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय समितिले यस प्रकारको व्यवहारले कांग्रेसको राजनीतिक निराशा मात्र नभई राष्ट्रिय गौरव र भारतको उपलब्धिप्रति उनीहरूको असंवेदनशीलता समेत उजागर गरेको टिप्पणी गरेको छ। “यस्तो संवेदनशील र ऐतिहासिक अवसरलाई सानो राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु देशप्रतिको गैरजिम्मेवार मनोवृत्ति हो,” विज्ञप्तिमा उल्लेख छ।
गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय गौरवका विषयहरूमा एकताबद्ध हुन र अन्तर्राष्ट्रिय मञ्चमा भारतको सम्मान जोगाउन आग्रह गरेको छ। समितिले चेतावनी दिँदै भनेको छ, “कसैले भारतको ‘प्रगति र गौरव’ लाई कुनै पनि नकारात्मक राजनीतिक फाइदाको निम्ति कमजोर पार्न सक्दैन। देशवासीहरू राष्ट्रिय एकता, आत्मसम्मान र विकासको मार्गमा दृढतापूर्वक उभिएका छन्।”
यस विषयमा कांग्रेसको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। गोर्खा जनमुक्ति मोर्चाको यो अभिव्यक्तिले भारतीय राजनीतिमा नयाँ बहस सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।





