त्रिशूलीमा त्रासदी : बस दुर्घटनामा १८ जनाकाे मृत्यु, २४ घाइते काठमाडौं पठाइयो

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
गएराति करिब सवा १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगाउँस्थित चरौदी नजिकै पृथ्वी राजमार्गबाट अनियन्त्रित भएर बस त्रिशूली नदीमा खसेको थियो।
ग २ ख १४२१ नम्बरको उक्त बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौंका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सञ्चालन गरेको उक्त बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको पुष्टि भएको छ। राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले २५ जना घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए।
एक जना घाइते न्युजिल्यान्डकी महिलाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको र आफू काठमाडौं नजाने बताएपछि उनलाई मलेखुमै राखेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ।
बस सञ्चालक समिति स्रोतका अनुसार बस धनी ओमकुमार श्रेष्ठ पनि सोही बसमा सवार रहेको र उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालक भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले उद्धार कार्यको नेतृत्व प्रहरी उपरीक्षक सुनील गिरीले गरेको जानकारी दिए। उनका अनुसार कुरिनटारस्थित विपद व्यवस्थापन तालिम विद्यालय र आदमघाटस्थित सशस्त्र प्रहरी विपद व्यवस्थापन आधार शिविरबाट डाइभिङ टोली परिचालन गरिएको थियो।
रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पताल पठाइएको छ। मृतक र घाइतेको पहिचान भइसकेको छैन।
दुर्घटनाको कारण अझै खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। बस तीव्र गतिमा रहेको र चालकले स्टेयरिङमाथिको नियन्त्रण गुमाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यस दुर्घटनामा केही विदेशी नागरिक पनि सवार रहेको बताइएको छ। न्युजिल्यान्डकी एक महिला घाइते भएकी छन् भने अन्य विदेशीको विवरण आउन बाँकी छ।
घटनापछि पृथ्वी राजमार्गको सो स्थानमा केही समय यातायात अवरुद्ध भएको थियो भने अहिले सामान्य भएको छ। उद्धार टोलीले अझै बेपत्ता भएका चालकको खोजी जारी राखेको छ।






