गृहमन्त्री अर्याल र यूएन आवासीय संयोजकबीच भेट: सहकार्य र निर्वाचन सुरक्षामा जोड

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई पक्षबीच विभिन्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री अर्यालले नेपालको शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहको क्षमता वृद्धि लगायतका क्षेत्रमा संयुक्त राष्ट्र संघले पुर्याउँदै आएको सहयोगको उच्च प्रशंसा गरे। उनले आगामी दिनमा संयुक्त राष्ट्र संघसँगको सहकार्य थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरे।
संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै लागूऔषध नियन्त्रण, सीमा सुरक्षा र मानव बेचविखन जस्ता क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे।
शिष्टाचार भेटका क्रममा गृहमन्त्री अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको जानकारी गराए। उनले निर्वाचनमा शान्ति सुरक्षा कायम गरी लोकतन्त्रलाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याए।





