चीन–उत्तर कोरियाबीचको रणनीतिक मैत्री अझ सुदृढ : सी जिनपिङद्वारा किम जोङ उनलाई बधाई

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार जनवादी गणतान्त्रिक कोरियाको वर्कर्स पार्टीका महासचिवमा पुनः निर्वाचित भएका किम जाेङ उनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
बधाई सन्देशमार्फत महासचिव सीले किमको नेतृत्वमा वर्कर्स पार्टी अफ कोरिया तथा जनवादी गणतान्त्रिक कोरियाले देशको समाजवादी निर्माण, राष्ट्रिय स्वाधीनता र विकासको यात्रामा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्री, पारस्परिक सम्मान र रणनीतिक सहकार्य अझ सुदृढ बन्दै गएको उल्लेख गरेका छन्।
चीन र उत्तर कोरियाबीच दशकौँदेखि रहँदै आएको ऐतिहासिक सम्बन्धलाई नयाँ युग अनुसार अझ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको महासचिव सीले स्पष्ट पारेका छन्। उनले दुवै देशका दल र सरकारबीचको उच्चस्तरीय सम्पर्क, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
सन्देशमा उनले अन्तर्राष्ट्रिय परिवेश जस्तोसुकै भए पनि चीन–उत्तर कोरियाबीचको समाजवादी मित्रता र सहकार्य निरन्तर अगाडि बढ्ने धारणा राखेका छन्। दुवै देशले साझा विचारधारा, ऐतिहासिक सहकार्य र पारस्परिक हितका आधारमा रणनीतिक समन्वयलाई गहिरो बनाउने विश्वास व्यक्त गरिएको छ।
महासचिव किमको निर्वाचनसँगै वर्कर्स पार्टी अफ कोरियाको नेतृत्व थप सुदृढ भएको र देशको राजनीतिक स्थायित्वमा नयाँ ऊर्जा थपिएको विश्लेषण गरिएको छ। यस अवसरलाई दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिने अवसरका रूपमा हेरिएको छ।
चीन र जनवादी गणतान्त्रिक कोरियाबीचको मित्रता केवल कूटनीतिक औपचारिकतामा सीमित नभई साझा आदर्श र दीर्घकालीन रणनीतिक सहकार्यमा आधारित रहेको सन्देशले स्पष्ट संकेत गरेको छ।





