अमेरिकाको ‘अस्पताल जहाज’ प्रस्ताव अस्वीकार : ग्रिनल्यान्डको जवाफ– छैन, धन्यवाद!

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा पठाउने भनेको अमेरिकी अस्पताल जहाजप्रति डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्डले चासो देखाएको छैन। ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले आइतबार सार्वजनिक रूपमै त्यसो भनेका हुन्।
फेसबुकमा पोस्ट गर्दै निल्सनले ग्रिनल्यान्डको जवाफ ‘छैन, धन्यवाद’ रहेको स्पष्ट पारे। उनले ग्रिनल्यान्डमा सार्वजनिक स्वास्थ्य सेवा रहेको र नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था भएको उल्लेख गरे। यसलाई आफ्नो समाजको सचेत छनोट र मूलभूत अंगको संज्ञा दिँदै उनले डाक्टरलाई देखाउन पैसा तिर्नुपर्ने अमेरिकी व्यवस्थासँगको भिन्नता पनि देखाए।
ग्रिनल्यान्ड सधैं अमेरिका सहित सबैसँग वार्ता र सहकार्यका लागि खुला रहेको बताउँदै प्रधानमन्त्री निल्सनले अमेरिकी पक्षलाई सामाजिक सञ्जालमा ‘कमबेसी अनियन्त्रित प्रतिक्रिया’ दिनुको सट्टा ग्रिनल्यान्डसँग प्रत्यक्ष कुराकानी गर्न सुझाव दिए।
यसअघि शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै लुइजियानाका गभर्नर जेफ ल्यान्ड्रिसँग मिलेर ग्रिनल्यान्डका “बिरामी नागरिकको हेरचाह” गर्न “एउटा ठूलो अस्पताल जहाज” पठाउने तयारी भइरहेको बताएका थिए।





