जेन जी विध्वंशकारीलाई आममाफी दिने तयारी: न्यायमाथि अन्यायको छाप

काठमाडौं। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत भदौ २४ गतेको जेन जी विध्वंशमा संलग्नलाई आममाफी दिने अन्तिम तयारी थालेको छ। प्रहरीको हतियार लुट्ने, सिंहदरबार लगायत सरकारी भवन जलाउने, तथा विभिन्न राजनीतिक तथा प्रशासनिक नेतृत्वमा रहेकाहरूको घरमा लुटपाट र आगजनी गर्नेहरूले उन्मुक्ति पाउने भएका हुन् ।
पछिल्लो समय जाहेरी परेका आधा दर्जन विध्वंशकारी विरुद्धको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताइन्छ। महान्यायाधिवक्ताको कार्यालयले ती छ जना मुख्य पात्रको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइसकेको स्रोतको दाबी छ। उच्च सरकारी स्रोतले पनि विध्वंशमा संलग्न केही जेन जीहरूलाई उन्मुक्ति दिने तयारी भएको घुमाउरो तवरले स्वीकार गरेको छ।
भदौ २४ गते सिंहदरबारको पश्चिम गेटमा प्रहरीको हतियार खोसेर नाङ्गो प्रदर्शन गर्ने, नक्सालस्थित अख्तियार भवन जलाउने, तत्कालीन गृहमन्त्री, गृहसचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको घर तोडफोड र आगजनी गर्ने, सरकारी गाडीमा आगजनी गर्नेहरूलाई यसअघि नै हाजिर जमानीमा छाडिएको थियो। अहिले उनीहरूलाई स्थायी उन्मुक्ति दिने गरी प्रक्रिया अघि बढाइएको महान्यायाधिवक्ता कार्यालय स्रोतको दाबी छ।
यसअघि यस्ता कसूरमा थुप्रैविरुद्ध मुद्दा चलाइएको थियो। पहिले पुर्पक्षमा गएकाहरूको मुद्दा कानुनी प्रक्रियामा नै छ। तर पछिल्ला छ जना धरौटीमा छुटेकाहरूलाई भने आममाफी दिने तयारी गरिएको हो। स्रोतका अनुसार सात पटकसम्म मुद्दा चलेकाहरूले पनि यसबाट उन्मुक्ति पाउने अवस्था छ।





