चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौंमा भव्य ‘गार्डेन पार्टी’ : नेपाल–चीन मित्रताको नयाँ उत्सव

काठमाडौं। चिनियाँ नयाँ वर्षको भव्य अवसरमा काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा एक विशेष ‘गार्डेन पार्टी’ सम्पन्न भएको छ। शुक्रबार साँझ आयोजित उक्त कार्यक्रममा नेपाल र चीनका कूटनीतिक, पर्यटन तथा सांस्कृतिक क्षेत्रका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनीलकुमार सिंह र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओ मिङलगायत विशिष्ट अतिथिहरूले एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

चाडपर्वको रौनक झल्काउने गरी कार्यक्रमस्थल रंगीन लालटिन र सजावटले झकिझकाउ पारिएको थियो। प्रारम्भिक सत्रमा ठूलो पर्दामार्फत सीसीटिभी बसन्त चाड गालाका मनमोहक झलक, चीनको हिउँदे पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक भिडियो तथा चाइना साउदर्न एयरलाइन्सको परिचय प्रस्तुत गरिएको थियो।

“नि हाओ चाइना” शीर्षकअन्तर्गत पर्यटन प्रवर्द्धन तथा काठमाडौं–चीनबीच हवाई सेवालाई अझ सहज बनाउने विषयमा विशेष प्रस्तुति दिइएको थियो। यसले दुई देशबीचको पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

“टेम्पो अफ चाइना” फोटो प्रदर्शनी, जीवन्त सांस्कृतिक प्रस्तुति, अन्तरक्रियात्मक कार्यक्रम तथा चिनियाँ खानाका परिकारहरूले सहभागीहरूलाई चिनियाँ संस्कृतिको झल्को दिएको थियो। साथै नेपाली गीत र नृत्यले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

चीन सांस्कृतिक केन्द्र नेपाल, चाइना साउदर्न एअरलाइन्स काठमाडौं कार्यालय तथा चाइना नेशनल टुरिजम कार्यालय काठमाडौंको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा तीन सय ३० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमलाई सफल बनाउन कलंकी स्युचाटारस्थित एलआरआई कन्फ्युसियस क्लासरूमले विशेष सहयोग गरेको थियो।

आगामी दिनमा पनि नेपालस्थित चीन सांस्कृतिक केन्द्रले दुई देशबीचको सांस्कृतिक तथा पर्यटन सहकार्यलाई निरन्तरता दिँदै मित्रताको नयाँ अध्याय लेख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button