सीमा नाकादेखि एआई सेलसम्म : राजस्व चुहावट नियन्त्रण रणनीतिमा प्रहरी र अर्थ मन्त्रालयबीच उच्चस्तरीय समीक्षा

काठमाडौं – राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच एकीकृत रणनीति आवश्यक रहेकोमा जोड दिँदै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारी निकायहरूबीच समन्वय अभावले मुलुक ठूलो राजस्व गुमाइरहेको बताएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित केन्द्रीय राजस्व चुहावट समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिए। यसअघिको बैठकमा भएका निर्णयहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेको चर्चा गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिए।
बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनले राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमता अनुरूप सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै प्रविधि, जनशक्ति, कानूनी सुदृढीकरण र अन्तरनिकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने धारणा राखे।
बैठकमा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावट सम्बन्धी विविध विषयमा जानकारी गराएका थिए।
बैठकमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा मोरङ, बारा, चितवन, बाँके र कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट राजस्व चुहावट तथा तस्करी नियन्त्रणका प्रयासहरूबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो। साथै, बैठकमा सीमा नाकामा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत त्यहाँको वर्तमान अवस्थाको अवलोकन गरी जानकारी लिइएको थियो।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, गृहसचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक तथा प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो।






