ओलीको दमक प्रवेश: ‘विरोधीहरू अझै भन्छन् के गरो, जनताले विकास देखेका छन्’

दमक, झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा भएको विकास निर्माणको मोडेलका रुपमा दमकलाई प्रस्तुत गरेका छन्। दमकमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारहरूको तुलनामा आफ्नो कार्यकालमा भएको भौतिक पूर्वाधारको विकासलाई रेखांकित गरे।
अध्यक्ष ओलीले विगतको सम्झना गर्दै भने, “तपाईं जहाँ उभिनु भएको छ, त्यहाँबाट वरिपरि हेर्नुहोस्। एमालेले गरेको विकास देख्नुहुन्छ। पहिले कालोपत्रे सडक हेर्न र बिजुलीको पोल देख्न राजमार्गसम्म जानुपथ्र्यो। आज त्यो अवस्था छैन।”
उनले दमकको रुपान्तरणको चित्रण गर्दै थपे, “आज घर–घरमा कालोपत्रे सडक पुगेको छ, हरेक घरमा बिजुलीको ज्योति छ। गाउँकै सानो विद्यालय आज दरबारजस्तो भएको छ। घर–घरमा खानेपानीको धारा पुगेको छ। यो हाम्रो परिश्रम र जनताको चाहनाको परिणाम हो।”
यति ठोस विकासका कामहरू भइरहँदा पनि आफूहरूमाथि आलोचना हुने गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। “अझै पनि हाम्रा विरोधीहरूले ‘अहिलेसम्म के गर्यो?’ भनेर प्रश्न गर्ने गरेको सुनिन्छ। जनताले देखेका छन्, उपभोग गरेका छन्। विरोधीहरूको नियत नै विकास देख्न नचाहने खालको छ,” ओलीले भने।
नेता ओलीले यो विकासलाई संस्थागत गर्न र थप गतिमा अघि बढाउन एमालेको नेतृत्वमा बलियो सरकार आवश्यक रहेको धारणा पनि सभामा राखेका थिए।





