नेपालगन्ज उद्योग वाणिज्य संघको निराशा
'भन्सार नियम र खुला सिमानाका समस्यामा सुनुवाइ भएन'

बाँके, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले भन्सार नियमलाई कडाइका साथ पालना गर्दै ओसार–पसार नीतिमा आवश्यक ध्यान दिन पटक–पटक माग राख्दा समेत सम्बन्धित निकायबाट अपेक्षित सुनुवाइ हुन नसकेको प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै यसलाई दुःखद पक्षको संज्ञा दिएको छ।
संघका सदस्य तोपबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “खुला सिमानाका कारण स्थानीय व्यवसायीहरूले गम्भीर समस्या भोग्दै आएका छन्। अवैध आयात–निर्यात, राजस्व चुहावट र बजार असन्तुलन जस्ता विकराल विषयमा समयमै स्पष्ट नीति, कडाइ र सहजीकरण हुन अत्यावश्यक छ।”
संघले वैध व्यापारलाई प्रोत्साहन र अवैध गतिविधिलाई निरुत्साहित गर्ने वातावरण निर्माण भए मात्र उद्योगी–व्यवसायी सुरक्षित र सशक्त बन्न सक्ने धारणा राखेको छ। हालको अवस्थामा नियम मिचेर हुने व्यापारले वैध व्यवसायी माथि अन्याय भइरहेको संघको ठहर छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्बन्धित निकायले व्यवसायीका जायज मागलाई गम्भीरतापूर्वक लिई तत्काल निर्णय गर्दै स्पष्ट, पारदर्शी र व्यवहारिक नीति ल्याओस् भन्ने हाम्रो अपेक्षा छ। निजी क्षेत्र र सरकारबीच सहकार्य र संवाद बढे मात्र आर्थिक समृद्धिको बाटो सहज बन्न सक्छ।”
नेपालगञ्ज उद्योग वाणिज्य संघले आगामी दिनमा आफ्ना मागहरूप्रति सुनुवाइ नभए थप संघर्षका कार्यक्रम बनाउन बाध्य हुने संकेत समेत गरेको छ।






