अनुशासनमा कठोर सन्देश : घात–अन्तर्घात गर्नेविरुद्ध कांग्रेसको निर्णायक कारबाही

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीको आधिकारिक उम्मेदवार र संगठनात्मक निर्णयविरुद्ध गतिविधि गर्ने सदस्यहरूलाई कडा अनुशासनात्मक कारबाही गरेको छ। पार्टीप्रति आस्था नराखी घात–अन्तर्घातमा संलग्न भएको ठहर गर्दै जिल्ला अनुशासन समितिले सम्बन्धित व्यक्तिहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सार्वजनिक गरेको हो।
जिल्ला कार्यसमितिको कार्यालय मार्फत जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय रूपमा उभिने, अन्य दलका उम्मेदवारलाई प्रस्ताव–समर्थन गर्ने तथा प्रचारप्रसारमा संलग्न हुने कार्यलाई गम्भीर अनुशासन उल्लङ्घन मानिएको छ। पार्टी विधान २०१७ र नियमावली २०७६ बमोजिम पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाइएको छ। कार्वाहीमा पर्नेमा धनबहादुर खड्का, दुर्गा प्रसाद पाण्डे, जगतराम बर्मा कुर्मी र शाेक बहादुर ओली रहेका छन्।
अनुशासन समितिका संयोजकद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको एकता, निष्ठा र सिद्धान्तविपरीत गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिइएको छ। “पार्टीभन्दा माथि कोही हुँदैन, संगठनको निर्णय सबैले मान्नुपर्छ,” भन्ने मूल भावसहित जारी सूचनामा भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा कदम चालिने चेतावनी पनि दिइएको छ।
यस निर्णयलाई केन्द्रीय सभापतिको स्पष्ट अडान र निर्देशनअनुसार नै कार्यान्वयन गरिएको जिल्ला नेतृत्वले जनाएको छ। पार्टीभित्र अनुशासन, एकता र संगठनात्मक मर्यादा कायम राख्न कठोर कदम अपरिहार्य भएको कांग्रेसको निष्कर्ष छ।
राजनीतिक वृत्तमा यस कारबाहीलाई संगठन सुदृढीकरण र आन्तरिक अनुशासन कायम गर्ने सन्देशका रूपमा हेरिएको छ। स्थानीय तहदेखि केन्द्रसम्म पार्टीभित्र एकरूपता र प्रतिबद्धता सुदृढ पार्ने लक्ष्यसहित गरिएको यस निर्णयले आगामी राजनीतिक यात्रामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
“जय नेपाल”को नारासहित सार्वजनिक गरिएको उक्त निर्णयले कांग्रेस पंक्तिमा स्पष्ट सन्देश प्रवाह गरेको छ—पार्टीप्रति निष्ठा नै सबैभन्दा ठूलो शक्ति हो, र त्यसविरुद्धको कुनै पनि गतिविधि सह्य हुनेछैन।





