रमेश मल्लको स्वास्थ्य–समृद्धि संकल्प : “सबल सल्यान, सुरक्षित नागरिक” अभियानमा व्यापक उत्साह

सल्यान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सल्यानबाट उम्मेदवार बन्नुभएका नेपाली कम्युनिस्ट पार्टीका नेता रमेश मल्लले स्वास्थ्य, सेवा र समग्र विकासलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट र दूरदर्शी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। शान्त, असल र जनमैत्री स्वभावका रूपमा परिचित मल्लले “सबल सल्यान, सुरक्षित नागरिक” भन्ने मूल नारासहित जिल्लाको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने ठोस योजना अघि सार्नुभएको हो।

उहाँले सबैभन्दा पहिले सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवन शीघ्र सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभएको छ। अस्पताललाई तत्काल विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा सञ्चालनमा ल्याई क्रमशः १०० शैय्यामा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। गुणस्तरीय उपचारका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र व्यवस्थापन सुधारमा विशेष पहल गरिने उहाँको भनाइ छ।
त्यसैगरी, जिल्लाका सबै पालिकामा कम्तीमा १५ शैय्याको अस्पताल पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन र नियमित सेवा सञ्चालन सुनिश्चित गरिने योजना प्रस्तुत गरिएको छ। प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याइने लक्ष्य राखिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमलाई सल्यानका सबै नागरिकसम्म विस्तार गर्ने, सूचीकृत रोगहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने तथा विशेषज्ञ डाक्टरसहितको घुम्ती सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ। दुर्गम बस्तीहरूमा टेलिमेडिसिन सेवा विस्तार गरी प्रविधिमार्फत विशेषज्ञ परामर्श उपलब्ध गराउने योजना रहेको छ। सुरक्षित मातृत्व कार्यक्रम, महिला–जेष्ठ नागरिक–बालबालिका लक्षित विशेष स्वास्थ्य सेवा र पोषण कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
उहाँको प्रतिबद्धतापछि काठमाडौँमा कम्प्युटर इञ्जिनियरिङ अध्ययनरत सल्यानी युवाहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरेर शिक्षा र विकास सम्बन्धी योजनाहरू समेटिएको सानो भिडियो तयार गरी पठाएको प्रसंगले अभियानलाई थप ऊर्जा दिएको छ। स्वस्फूर्त रूपमा जन्मभूमिप्रति देखाइएको यस्तो लगावप्रति मल्लले हार्दिक आभार व्यक्त गर्नुभएको छ।

“जो जहाँ रहे पनि जन्मभूमिको माटो नभुलौँ,” उहाँले भन्नुभयो, “देश तथा विदेशमा रहेका सम्पूर्ण सल्यानी प्रतिभाहरूलाई सल्यानको समग्र विकासका लागि एकै ठाउँमा जोड्ने प्रयास म गर्नेछु।” जिल्लाको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति, प्रविधि र लगानीलाई समन्वय गर्ने स्पष्ट दृष्टिकोण उहाँले अघि सार्नुभएको छ।
चुनावी अभियानका क्रममा उहाँले बनगाड कुपिन्डे नगरपालिका वडा नं. ९ जयतपानी, वडा नं. ८ ज्यामिरे, दह तथा शारदा नगरपालिका वडा नं. ४ सुनटाकुरामा जनभेला तथा मतदाता भेटघाट सम्पन्न गर्नुभएको छ। हाल साहुटोलामा मतदाता भेटघाट जारी रहेको जानकारी दिइएको छ।

स्थानीयबासीले उठाएका माग, सुझाव र समस्याहरूलाई गम्भीरतापूर्वक संकलन गरिएको र समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राख्दै सल्यानलाई आत्मनिर्भर र समृद्ध जिल्लाका रूपमा विकास गर्ने अभियानमा व्यापक जनसमर्थन जुटिरहेको अभियान पक्षले जनाएको छ।





