ताकाइचीको नीतिविरुद्ध टोकियोमा आक्रोश : ‘हामीलाई युद्ध होइन, संवाद चाहिन्छ’

टोकियो: जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको संविधान संशोधन र सैन्य सामर्थ्य विस्तारलाई तीव्रता दिने खतरनाक नीतिविरुद्ध मंगलबार साँझ टोकियोमा ठूलो जनसागर उर्लिएको छ। हजारौं जापानी नागरिकले देशको भविष्यको दिशाप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रदर्शन गरेका हुन्।
प्रतिनिधि सभाको दोस्रो सदस्य भवन अगाडि विभिन्न नागरिक समूहको संयुक्त आयोजनामा भएको र्यालीमा सहभागीहरूले “संविधान संशोधनको विरोध”, “फासिजमलाई पिंजराबाट मुक्त नगर” लगायतका नारा अङ्कित प्लेकार्ड बोकेका थिए। उनीहरूले “युद्ध होइन” भन्दै नाराबाजी गरेका थिए।
प्रदर्शनकारीमध्ये एक नोरिको काशिकावाले पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीको नीति एजेन्डाप्रति आफू “शतप्रतिशत विरोधी” रहेको बताइन्। उनले जापानलाई निरन्तर युद्धका लागि तयार रहने अवस्थातर्फ धकेलिइएको चेतावनी दिँदै भनिन्, “यदि देशलाई निरन्तर द्वन्द्वतर्फ धकेलियो भने, यसले अन्ततः आत्मविनाश निम्त्याउनेछ।”
काशिकावाले जापानले सञ्चारमा अवरोध पुर्याउने कानुन बनाउने वा बाहिरी रूपमा कठोर वातावरण सिर्जना गर्नेभन्दा पनि संवाद र कूटनीति मार्फत चुनौतीहरूको सामना गर्नुपर्ने धारणा राखिन्।
भीडमा धेरै युवाहरू पनि देखिन्थे। मात्सुबारा नामक एक विश्वविद्यालयका विद्यार्थीले सरकारको हालैका नीतिगत कदमहरूले आफूलाई चिन्तित बनाएको बताइन्। उनले भनिन्, “यी नीतिहरू सबै युद्ध सुरु गर्ने तयारी जस्तो देखिन्छ।” उनले जनताको आवाजलाई अझ प्रभावकारी रूपमा प्रतिबिम्बित गर्ने सरकारको आवश्यकता औंल्याइन्।
फेब्रुअरी २० मा संसदमा नीतिगत भाषणका क्रममा ताकाइचीले संविधान संशोधनप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएकी थिइन्। उनले जापानको रक्षा क्षमतालाई आधारभूत रूपमा सुदृढ पार्ने, घातक हतियारको निर्यात विस्तार गर्ने र राष्ट्रिय खुफिया क्षमता अभिवृद्धि गर्ने आह्वान गरेकी थिइन्। उनको यी टिप्पणीहरूले जापानी समाजमा व्यापक चिन्ता र आलोचना निम्त्याएको छ।





