बालीमा बाढीको भीषण त्रास : पर्यटकलाई सुरक्षित स्थानमा सारियो, डुंगाबाट उद्धार

जकार्ता: इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भारी वर्षापछि आएको बाढीले भयावह अवस्था सिर्जना गरेको छ। डेनपासारको सानुर क्षेत्र बाढीले सबैभन्दा बढी प्रभावित भएको छ भने दर्जनौं विदेशी पर्यटकलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।
सानुरको जालान बुमी आयु र जालान केसारी तथा डेनपासारको जालान गुनुङ एथेना क्षेत्रमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ। यी स्थानहरूमा बाढीको पानी डेढ मिटरसम्म अर्थात एक वयस्क मानिसको छातीसम्म पुगेको छ। धेरै भिल्ला र होटलहरू डुबानमा परेका छन्, जसले गर्दा पर्यटन गतिविधिमा समेत अवरोध पुगेको छ।
बाली प्रहरीको खोज तथा उद्धार टोली मंगलबार बिहानै परिचालन गरिएको थियो। चार वटा डुङ्गा र एक रबरको डुङ्गासहित १४ जनाको टोलीले उद्धार कार्य गरिरहेको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार उद्धार टोलीका समन्वयकर्ता गेडे सुत्रवानले भने, “हालसम्म पाँच जना पाहुनालाई उद्धार गरिएको छ भने उत्तर क्षेत्रबाट सात जनालाई सुरक्षित स्थानमा सारिएको छ।”
धेरै दिनदेखि बालीका विभिन्न स्थानमा भइरहेको भारी वर्षापछि बाढी आएको हो। अधिकारीहरूले निरन्तर वर्षाले स्थिति झन खराब हुन सक्ने चेतावनी दिँदै स्थानीय र पर्यटकहरूलाई सतर्क रहन र सुरक्षा सल्लाहहरू पालना गर्न आग्रह गरेका छन्।





