मस्को वार्ता : रुस–भियतनामबीच बहुआयामिक सहकार्य विस्तार गर्ने सहमति

मस्को: रुस र भियतनामबीचको ऐतिहासिक मैत्री तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित उच्चस्तरीय कूटनीतिक भेटवार्ता सम्पन्न भएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र भियतनामका विदेशमन्त्रीले होई चुङबीच मंगलबार मस्कोमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको हो।

भियतनामी कम्युनिष्ट पार्टीका महासचिव टो लामका विशेष दूतका रूपमा चुङ रुस भ्रमणमा रहेका छन्। उनको यस भ्रमणलाई दुई देशबीचको दीर्घकालीन विश्वास, राजनीतिक समझदारी र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

भेटका क्रममा दुवै पक्षले रुस–भियतनामबीच विद्यमान “व्यापक रणनीतिक साझेदारी” लाई अझ गहिरो र प्रभावकारी बनाउने उपायहरूबारे विस्तृत छलफल गरेका थिए। ऊर्जा, व्यापार, सुरक्षा, शिक्षा, प्रविधि र सांस्कृतिक आदानप्रदानजस्ता बहुआयामिक सहकार्यका क्षेत्रलाई विस्तार गर्ने विषयमा सकारात्मक धारणा आदानप्रदान भएको जनाइएको छ।

यसैगरी विभिन्न तहमा नियमित उच्चस्तरीय भ्रमण तथा संवादलाई निरन्तरता दिने सहमति पनि भएको छ। दुवै देशले द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउँदै आपसी हितका क्षेत्रहरूमा ठोस परियोजना र कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटवार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय समसामयिक एजेन्डाबारे पनि विचारविमर्श भएको बताइएको छ। बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा दुवै देशले आपसी समन्वयलाई अझ सुदृढ गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई बलियो बनाउने विषयमा समझदारी कायम भएको कूटनीतिक स्रोतले जनाएको छ।

रुस र भियतनामबीचको सम्बन्ध शीतयुद्धकालदेखि नै निकट रहँदै आएको छ। समयक्रमसँगै विकसित भएको यो सम्बन्ध आज व्यापक रणनीतिक साझेदारीको तहमा पुगेको छ, जसले राजनीतिक विश्वास, आर्थिक सहकार्य र अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझा दृष्टिकोणलाई आधार मानेको छ।

यस पछिल्लो भेटवार्तालाई दुवै देशले दीर्घकालीन मित्रता, पारस्परिक सम्मान र साझा हितमा आधारित सहकार्यलाई अझ संस्थागत र परिणाममुखी बनाउने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button