पाँच मुलुकका राजदूतबाट राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चीनसहित पाँच मुलुकका राजदूतहरूले मंगलबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनीहरूले प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपतिसमक्ष चीनका राजदूत डा. चाङ माओमिङ, अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट र साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिरले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। यी तीनै राजदूत नेपालका लागि आवासीय राजदूत हुन्।
यसैगरी, मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। उनीहरू भने नेपालका लागि गैरआवासीय राजदूत हुन्।
प्रमाणपत्र पेस गरेपछि चिनियाँ राजदूत डा. चाङ माओमिङले सामाजिक सञ्जालमार्फत भावना व्यक्त गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, “नेपालका लागि २३औँ चिनियाँ राजदूतको रूपमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न पाउनु गौरवको विषय हो।”
उनले थप्दै भनेका छन्, “चीन–नेपाल साझा भविष्यको समुदाय निर्माणका लागि हाम्रो चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै व्यवहारिक सहयोगलाई अघि बढाउन सबै नेपाली मित्रहरूसँग सहकार्य गर्न उत्सुक छु।”






