निर्वाचन सुरक्षा रणनीति : पूर्वप्रमुख निर्वाचन आयुक्त र प्रहरी प्रमुखबीच अन्तरक्रिया

काठमाडौं: आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले आवश्यक सुरक्षा रणनीति र कार्ययोजनालाई अन्तिम रूप दिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समुपस्थितिमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा ‘निर्वाचन सुरक्षा व्यवस्थापन र सुदृढीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी कार्य गर्नुपर्ने बताए। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखि तर्जुमा गरिएका सुरक्षा रणनीति एवम् कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उनले जोड दिए। विगतमा सम्पन्न भएका निर्वाचन सुरक्षाको विश्लेषण गर्दै आसन्न निर्वाचनमा समेत अझ प्रभावकारी सुरक्षा रणनीति अपनाई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताए। यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवम् पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए। विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना/रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको उनले उल्लेख गरे। निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जाल मार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको उनले बताए।
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीहरूलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताए। निर्वाचनको सन्दर्भमा नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति प्रशंसनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताए।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती/विश्लेषण लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो।
आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गरी नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनको लागि पूर्व तयारीका कार्यहरू अगाडि बढाइरहेको सन्दर्भमा विगतमा सम्पन्न निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका दिग्गज व्यक्तित्वहरू एवम् पूर्व वरिष्ठ प्रहरी अधिकृतहरूको अनुभव, व्यवहारिक ज्ञान तथा रणनीतिक सुझावहरूले निर्वाचन सुरक्षाको निम्ति महत्वपूर्ण आधार तय गर्ने भएकोले उक्त अनुभवलाई संस्थागत रूपमा समेटी निर्वाचन सुरक्षालाई थप प्रभावकारी, सुदृढ तथा परिमाणमुखी बनाउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको छ।





