रवि लामिछानेको अभिव्यक्तिविवाद : ‘ठाउँको ठाउँ रोक्नुपर्छ’ भन्ने टिप्पणी चर्कियो

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एउटा अभिव्यक्तिले नयाँ विवाद निम्त्याएको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी उम्मेदवार अमरेशकुमार सिंहको प्रचार प्रसारका क्रममा उनले कांग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै गरेको टिप्पणीपछि चर्को आलोचना भएको हो।
निर्वाचन आयोगले रोक लगाएको रुफटप गाडी प्रयोग गरेर मत माग्न पुगेका लामिछानेले सिंहको पक्षमा भोट माग्दै भनेका छन्, ‘यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेशको मान्छेले जित्थ्यो। मधेशले जित्थ्यो। तर, कोही काठमाडौंबाट यहाँ आएर मधेशको बेटा हुँ भन्दै ठाउँ लिने जुन प्रयास भएको छ, यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईंको।’
उनको यो अभिव्यक्तिलाई धेरैले आफैं अमेरिकी नागरिक भएको व्यक्तिले अरूको मधेशी पहिचानमाथि प्रश्न गर्न नमिल्ने भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा धेरैले उनलाई ‘तिमी चाहिँ कहाँको?’ भन्दै प्रश्न गरेका छन्।
लेखक तथा टिप्पणीकार सन्तोष पौडेलले भनेका छन्, ‘तिमी चाहिँ कहाँको हौ ठग दाइ? किन चितवन पुगेको?’ यस्तै डम्बर बोहोराले रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बालेन्द्र साहको हकमा पनि त्यसैगरी बोल्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘झापा ५ मा काठमाडौंबाट नै आएका छन् है, तिनलाई पनि त्यसै भन्नुपर्यो।’
प्रबिन खतिवडाले राजनीतिक एजेण्डा नभएर रविले उम्मेदवारको विरोध गरेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘राजनीतिक चेतना नभएको ठग होस्। यदि राजनीतिक चेतना भए, एजेण्डामा प्रतिस्पर्धा गर किन व्यक्तिको विरोध गरिहिँड्छस्?’
विशालले भने रविले बोलेकै कुरा झापा–५ का मतदाताले बुझ्नुपर्ने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘झापा–५ ले बुझ्नुपर्ने कुरो यही हो।’
लामिछाने आफैं अमेरिकी नागरिकता त्यागेर काठमाडौंमा दाजु हरिशरणसँग अंशबण्डाको मुद्दा लडिरहेको र पछिल्लो निर्वाचनमा चितवनबाट उम्मेदवार भएको सन्दर्भ जोड्दै धेरैले उनको अभिव्यक्तिलाई विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।





