बीबीसी डकुमेन्ट्री : नेपालको आन्तरिक राजनीतिमा पश्चिमा हस्तक्षेपको जिउँदो प्रमाण

काठमाडौं – संसदीय चुनावको मुखैमा बेलायती सञ्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री नेपालको आन्तरिक राजनीतिमा गरिएको नियोजित हस्तक्षेप भएको भन्दै व्यापक विरोध भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण रहेको बताएका छन्।
चुनावको संवेदनशील समयमा सार्वजनिक गरिएको यो सामग्रीले नेपालको सार्वभौमिकतामा प्रश्न उठाएको भन्दै सरकार र निर्वाचन आयोगले समेत यसलाई गम्भीरतापूर्वक लिएको छ। निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र काटेर यस्तो सामग्री हटाउन निर्देशन दिन सिफारिस गरिसकेको छ भने प्रेस काउन्सिलले बीबीसीलाई हटाउन लिखित निर्देशन दिने तयारी गरेको छ।
डकुमेन्ट्रीमा मृतकका आफन्तको भक्स पप र रक्षा बमको अन्तरवार्ता बाहेक नयाँ कुरा नरहेको तर पुराना घटनालाई जोडेर नियोजित रूपमा एजेन्डा सेटिङ गरिएको टिप्पणी भइरहेको छ। पत्रकार तथा विश्लेषकहरूले पश्चिमा मिडियाहरू सूचना प्रवाहभन्दा एजेन्डा सेटिङमा केन्द्रित हुने गरेको र यो डकुमेन्ट्री पनि त्यसको एउटा उदाहरण भएको बताएका छन्।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले भने, ‘जेन्जीका निर्दोष भाइबहिनीहरूलाई अगाडि देखाउँदै नेपालको शत्रुपक्षले साङ्घातिक हमला गरेको हामीले बारम्बार भन्दै आएका थियौं। बीबीसीले निर्वाचनको पूर्वसन्ध्यामा जसरी सामग्री सम्प्रेषण गर्यो, यसले बीबीसी पृथ्वीमा विध्वंस मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्ने पश्चिमी योजनाकै एउटा अङ्ग हो भन्ने पुष्टि भएको छ।’
चलचित्र पत्रकार डब्बु क्षेत्रीले २३ गतेको नेपो बेबिज र भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण कार्यक्रम जेन जीको भए पनि भीडलाई उग्र बनाएर बालबालिका मार्ने र सिंहदरबारलगायत संरचना जलाउने कार्य रास्वपाकाे भएको स्पष्ट पारे। उनले भने, ‘विद्यार्थीको शान्तिपूर्ण जुलुसलाई बिजुली बजार कटेपछि कसले हाइज्याक गर्यो ? कफ्र्यु लागेपछि पनि विद्यार्थीलाई सम्झाएर घर फर्काउनुको सट्टा भिडन्तमा उतार्ने हाइज्याकर को थिए ? यी प्रश्नको जवाफ खोज्न आवश्यक छ।’
बीबीसी डकुमेन्ट्रीमा नसमेटिएका धेरै दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जसमा टिओबी टिसर्ट लगाएर परिचालित दलाई लामाका अनुयायी, पानी वितरणको नाममा मानिस उक्साउँदै बुलेट बाइक चढेर हिँडिरहेका कालो मास्कधारी बारबारा फाउण्डेशनका मानिस, कर्फ्यू आदेश लागेपछि घर फर्किन हात जोडेर माइकिङ गरिरहेका प्रहरीका दृश्यहरू समावेश छन्।

युवा नेता नरेश रोकायाले भने, ‘सुरक्षा निकायलाई कमजोर सावित पारेर असली हत्याराहरूलाई जोगाउने उद्देश्यबाट प्रेरित बीबीसीको डकुमेन्ट्रीले चुनावको मुखमा स्वदेशभन्दा विदेशकै सेवा गरेको छ।’
सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन कुमार शाक्यले भने, ‘अबोध बालबालिकालाई सुनियोजित रूपमा जोखिमपूर्ण आन्दोलनमा प्रयोग गरेर कयौं आमाबुबाको काख रित्तो बनाउने, घाइते बनाउने र देश जलाउने अपराध गर्नेहरूले ढिलो चाँडो सजाय पाउनैपर्छ।’
यसैबीच, सामाजिक सञ्जालमा धेरैले उठाएको प्रश्न छ – यति बेला चुनावकै मुखमा किन घटनाक्रमलाई जोडेर बीबीसीले यो श्रव्यदृश्य बाहिर ल्यायो ? फेरि विध्वंसको लागि उक्साउन हो ? यसले नेपालको शान्ति, स्थिरता र सार्वभौमसत्तामाथिको ठूलो चुनौती भएको टिप्पणी गरिएको छ।
जनताले बारम्बार सोधेका प्रश्नहरूको जवाफ नखोजी बीबीसीले एकपक्षीय डकुमेन्ट्री ल्याएको भन्दै यसले नेपालको लोकतन्त्र र सार्वभौमिकतामाथि प्रहार गरेको ठहर कतिपयको छ। नेपाली जनता सचेत रहनुपर्ने, तथ्य जाँच गर्नुपर्ने र राष्ट्रिय हितको पक्षमा उभिनुपर्ने बताइएको छ।





