विश्वको नजर बेइजिङमा : ‘दुई सत्र’ को मिडिया सेन्टर उद्घाटन, ३ हजार पत्रकारको सहभागिता

बेइजिङ – चीनको सर्वोच्च राजनीतिक निकायहरू राष्ट्रिय जन कांग्रेस (एनपीसी) र चिनियाँ जन राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को वार्षिक बैठक ‘दुई सत्र’ का लागि प्रेस सेन्टर शुक्रबार बेइजिङको मिडिया सेन्टर होटलमा भव्य रूपमा उद्घाटन गरिएको छ।
१४औँ राष्ट्रिय जन कांग्रेसको चौथो सत्र र १४औँ चिनियाँ जन राजनीतिक सल्लाहकार सम्मेलनको चौथो सत्र क्रमशः मार्च ५ र मार्च ४ का दिन सुरु हुनेछन्। चीनको राजनीतिक पात्रोकै सबैभन्दा महत्त्वपूर्ण घटनाका रूपमा हेरिने यी बैठकहरूमा देशको आगामी नीति, विकासको दिशा र राष्ट्रिय रणनीतिहरूबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।
प्रेस सेन्टरका अनुसार यस वर्षको ‘दुई सत्र’ को कभरेजका लागि ३ हजारभन्दा बढी पत्रकारहरूले दर्ता गराएका छन्। जसमध्ये १ हजारभन्दा बढी पत्रकार चीनको हङकङ, मकाउ, ताइवान तथा विभिन्न विदेशी मुलुकहरूबाट रहेको जनाइएको छ। यो संख्याले अन्तर्राष्ट्रिय समुदायको चीनप्रतिको बढ्दो चासो र ‘दुई सत्र’ को वैश्विक महत्त्वलाई झल्काउँछ।
प्रेस सेन्टरमा पत्रकारहरूका लागि अत्याधुनिक प्रविधि र सुविधासम्पन्न व्यवस्था गरिएको छ। यहाँबाट पत्रकारहरूले बैठकका गतिविधिहरू, प्रेस वक्तव्यहरू र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गर्न सक्नेछन्।
‘दुई सत्र’ का अवसरमा शीर्ष सरकारी अधिकारीहरूसँग पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछ। जसमा वरिष्ठ सरकारी अधिकारीहरूले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिनेछन् र महत्त्वपूर्ण नीतिहरू तथा विकासका दिशाहरूबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ। चीनको आर्थिक वृद्धि, सामाजिक विकास, विदेश नीति, प्रविधि र नवप्रवर्तनलगायतका विषयमा केन्द्रित रहेर यी सत्रहरूमा छलफल हुनेछ।
विज्ञहरूका अनुसार यसपालिको ‘दुई सत्र’ चीनको विकास यात्राका लागि कोसेढुङ्गा सावित हुनेछ। यसले चीनको आगामी पञ्चवर्षीय योजनाको कार्यान्वयन, आर्थिक सुधारका उपायहरू र अन्तर्राष्ट्रिय सहयोगका नयाँ आयामहरूबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
चीनको राजनीतिक प्रक्रियाको पारदर्शिता र खुलापनको प्रतीकका रूपमा लिइने ‘दुई सत्र’ ले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले जनकेन्द्रित विकासको अवधारणालाई कसरी अघि बढाइरहेको छ भन्ने उदाहरण प्रस्तुत गर्नेछ। साथै, यसले चीनको शासन प्रणाली र नीति निर्माण प्रक्रियाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी प्राप्त गर्ने एउटा महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ।





