‘बीबीसी डकुमेन्ट्री प्रायोजित चालबाजी’ : पूर्वआइजीपी खापुङ

काठमाडौं / नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ गत कात्तिक २७ गते अवकाशमा गएयता गृहजिल्ला तेह्रथुममा खेती गरेर बसेका छन्। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा बयान दिएर स्थानहद हटेपछि जन्मभूमिमा कृषिकर्ममा रमाइरहेका उनलाई बिहीबार बेलायतको प्रसारण संस्था बीबीसीले विवादमा ल्याइदियो।

बुधबार बेलायतकै अर्को समाचार संस्था रोयटर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नै बन्न लागेको ठोकुवासहित समाचार लेख्यो। त्यसको भोलिपल्ट बिहीबार बीबीसीले निर्वाचन आचारसंहितामै प्रश्न उठ्ने गरी जेन-जी आन्दोलनको एकपक्षीय डकुमेन्ट्री सार्वजनिक गर्‍यो।

चुनाव आउन एकसाता बाँकी हुँदा योजनावद्ध रुपमा उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको आरोप लागिरहेको छ। एउटा शक्तिलाई उचाल्न र अर्को राजनीतिक शक्तिलाई चुनावबाट कमजोर बनाउने ध्येयसहित उक्त सामग्री आएको टिप्पणी भइरहेका बेला पूर्वआईजीपी खापुङले यसबारे कडा टिप्पणी गरेका छन्। खापुङले बीबीसीको यो प्रयासलाई ‘गम्भीर चालबाजी’ को संज्ञा दिएका छन्।

भदौ २३ गतेको जेन-जी प्रदर्शन र भदौ २४ गतेको देशव्यापी विध्वंशबारे देशमा अहिले पनि मतभेद छ। बीबीसीले भदौ २२ अघिका योजनाकार र भदौ २४ को पूरै पाटोलाई पाखा लगाउँदै एक पक्षीय कथा ल्याएपछि निर्वाचन आयोगले पनि त्यसलाई हटाउन प्रेस काउन्सिललाई भनिसकेको छ।

२३ गते दिउँसोको निश्चित समय र स्थानको मात्रै फोटो, भिडियो जोडजाड पारेर चुनावका मुखमा ल्याएको उक्त डकुमेन्ट्री ‘प्रायोजित’ रहेको उनले बताएका छन्।

जिल्ला तहबाट कर्फ्यु घोषणा भइसकेको बेला माथिल्लो सुरक्षा नेतृत्वले गोली चलाउन छुट्टै आदेश दिनु नपर्ने, परिस्थितिको आवश्यकताअनुसार के गर्ने भन्ने निर्णय जिल्ला सुरक्षा समितिले सर्वमान्य सिद्धान्तबमोजिम त्यस दिन कानुन कार्यान्वयन भएको उनले बताए।

चुनावको मुखमा जनमतलाई प्रभावित पार्ने उद्देश्यले खास गतिलो कन्टेन्ट केही नराखी एउटा मात्रै दिनको केही सामग्री काटकुट बनाएर सामाजिक सञ्जालमार्फत उछाल्ने काम बीबीसीले गरेको उनले बताए। चुनावको मुखमा मतलाई प्रभावित गर्न यस्तो काम गरिएको उनले बताए।

नेपालस्थित किनेकाहरूले नसकेपछि बीबीसी जस्ता पश्चिमा सञ्चारमाध्यमहरू आफैं हामफाल्न आइपुगेको उनले बताए। ‘डकुमेन्ट्रीका नाममा पश्चिमाहरू आफैँ नेपालको आन्तरिक मामिलामा हात हाल्न आएका हुन्’, उनले भने, ‘कन्टेन्ट त खासमा केही पनि छैन। किनेकाहरूले नसकेपछि, यहीँको मिडियाबाजीले नपुगेपछि उनीहरू आफैँ हामफालेका छन्।’

नेपाल प्रहरीको इतिहासमा छोटो समयमात्रै अर्थात् दुई महिना आईजीपी बनेका खापुङले निर्वाचनको संघारमा गरिने यस्ता प्रचारबाजी बेकार भएका बताउँदै यिनले कुनै अर्थ नराख्ने पनि उल्लेख गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button