‘इरान नजाऊँ, त्यहाँ भएका तुरुन्त फर्केऊँ’ : चीनको कूटनीतिक चेतावनी

बेईजिङ / चीन सरकारले आफ्ना नागरिकलाई इरानको भ्रमण नगर्न कडा चेतावनी दिएको छ। इरानमा हाल विद्यमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चिनियाँ विदेश मन्त्रालय र त्यहाँस्थित चिनियाँ दूतावास तथा महावाणिज्य दूतावासहरूले संयुक्त रुपमा यस्तो आग्रह गरेका हुन्।
चिनियाँ विदेश मन्त्रालयको कन्सुलर विभागले शुक्रबार आफ्नो आधिकारिक विच्याट खातामार्फत सूचना जारी गर्दै इरानमा रहेका चिनियाँ नागरिकलाई पनि उच्च सतर्कता अपनाउन र यथाशीघ्र त्यहाँबाट प्रस्थान गर्न अनुरोध गरेको छ।
उक्त सूचनामा भनिएको छ, ‘इरान र छिमेकी देशहरूमा रहेका चिनियाँ दूतावास तथा महावाणिज्य दूतावासहरूले व्यावसायिक उडान वा स्थलमार्ग हुँदै आफ्नो देश फर्कन चाहने चिनियाँ नागरिकहरूलाई आवश्यक सहयोग प्रदान गर्नेछन्।’
क्षेत्रीय तनाव बढ्दै गएका बेला चीनले आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै यो सतर्कता अपनाएको जानकारहरू बताउँछन्।





