अफगान–पाकिस्तान भिडन्त रोक्न रुसको आग्रह : ‘वार्ताकाे विकल्प छैन’

मस्को – अफगानिस्तान र पाकिस्तानबीच भएको भीषण सैन्य द्वन्द्वप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ। नियमित सेना, युद्धक विमान र भारी हतियारसमेत प्रयोग भएको उक्त भिडन्तमा दुवैतर्फ सैनिक र सर्वसाधारणको ज्यान गएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स र पाकिस्तान इस्लामिक गणतन्त्रबीच भएको तीव्र सैन्य भिडन्तले हामीलाई चिन्तित बनाएको छ।’
दुई मुलुकबीच बढ्दो तनाव रोकेर वार्ताको बाटो समाउन उनले आग्रह गरेकी छन्। ‘हामी आफ्ना मित्रराष्ट्र अफगानिस्तान र पाकिस्तानलाई खतरनाक द्वन्द्व त्यागेर वार्ताको टेबुलमा फर्कन र राजनीतिक तथा कूटनीतिक माध्यमबाट सबै मतभेद समाधान गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
सीमा क्षेत्रमा भएको यो झडपपछि दुवै देशमा तनाव चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायले पनि शान्तिपूर्ण समाधानको अपेक्षा गरेको छ।





