इजरायलको ‘पूर्वसावधानी’ आक्रमण : तेहरानमा विष्फोट, भड्कियो मध्यपूर्वको आकाश

काठमाडौं। मध्यपूर्वमा तनावको आगो फेरि सल्किएको छ। इजरायलले आइतबार बिहान इरानमा ‘पूर्वसावधानी’ स्वरूप आक्रमण गरेको छ। इजरायली रक्षा मन्त्रालयका अनुसार इरानबाट हुनसक्ने खतरालाई हटाउने उद्देश्यले यो आक्रमण गरिएको हो।
तेहरानमा सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईको कार्यालय नजिकै आक्रमण भएको सञ्चारमाध्यमले जनाएका छन्। यसका साथै तेहरानको युनिभर्सिटी स्ट्रिट, जोम्हुरी क्षेत्रलगायत स्थानमा पनि विष्फोट सुनेको बताइएको छ। आक्रमण जारी रहँदा इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
अर्कोतर्फ, इरानको सम्भावित जवाफी कारबाहीको तयारीका लागि इजरायलभर साइरन बजाएर सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। इजरायलको विमानस्थल प्राधिकरणले नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गरेको छ।
यो आक्रमण अमेरिका र इरानबीच जेनेभामा भएको आणविक वार्ता सम्पन्न भएको केही दिनपछि भएको हो। अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य शक्ति भारी मात्रामा बढाइरहेको र आणविक वार्ता समेत अगाडि बढ्न नसकेपछि अमेरिका र इरानबीच तनाव चुलिएको थियो। इजरायलको यो आक्रमण अमेरिकासँग समन्वय गरेर गरिएको बताइएको छ।
यस आक्रमणले मध्यपूर्व क्षेत्रमा ठूलो संकट निम्त्याउने र त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षामा समेत गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।





