मध्यपूर्वमा आगोको मुस्लो : इजरायल–इरान भिडन्त, अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार

काठमाडौं। मध्यपूर्वको आकाश फेरि तरंगित भएको छ। फेब्रुअरी २८ तारिख इजरायलले इरानमाथि आक्रमण गरेको इजरायली राष्ट्रिय प्रतिरक्षा मन्त्रीले जानकारी दिएका छन्। सोही दिन इरानको राजधानी तेहरानमा मात्र नभई विभिन्न प्रान्तहरूमा पनि ठूलठूला विस्फोटनका आवाज सुनिएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ।
आक्रमणपछि इरानी नागरिक उड्डयन विभागले देशभरको वायु क्षेत्रलाई अस्थायी रूपमा ६ घण्टाका लागि बन्द गरेको घोषणा गरेको छ।
यता, संयुक्त अरब इमिरेट्सको अबुधावीमा पनि दुई वटा विनाशकारी विस्फोटन भएका छन्। यसपछि युएईले आफ्नो केही हवाई मार्गहरू बन्द गरेको छ। सिरियाको राजधानी दमस्कसमा पनि तीन पटक विस्फोटनको आवाज सुनिएको छ, तर सिरियाली सरकारले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन।
त्यसैगरी, इजरायल र अमेरिकाले इरानी राष्ट्रपति भवन लगायत विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको बताइएको छ। जवाफमा इरानले इजरायलको तेल अभिव लगायतका सहरहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ।
यसैबीच, इरानी सेनाले कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सेनाका ४ वटा अखडामाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ। यी आक्रमणपछि सम्पूर्ण मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ र त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षामा समेत ठूलो चिन्ता व्यक्त गरिएको छ।





