इरानमाथिको आक्रमण ‘पूर्वनियोजित र अप्राकृतिक आक्रमण’ भएको रुसको ठहर : भन्यो- ‘तेल अभिभ र वासिङ्टनले खेल्यो खतरनाक जुवा’

काठमाडौं। रुसले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणको कडा भर्त्सना गरेको छ। रुसी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै फेब्रुअरी २८ को बिहान अमेरिकी र इजरायली सेनाले इरानमा हवाई आक्रमण गरेको जनाएको छ।
रुसले यो आक्रमणलाई संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि गरिएको ‘पूर्वनियोजित र अप्राकृतिक सैन्य आक्रमण’ को संज्ञा दिएको छ। मन्त्रालयका अनुसार यस क्षेत्रमा अमेरिकाले ठूलो सैन्य शक्ति केन्द्रित गर्नु र यसअघि भएको प्रचारात्मक तयारीले यो आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरिएको स्पष्ट संकेत गरेको छ।
रुसले यो आक्रमण यस्तो बेला भएकोप्रति पनि आपत्ति जनाएको छ, जतिखेर इरानको वरिपरिको अवस्थालाई सामान्य बनाउन वार्ताको प्रक्रिया पनि अगाडि बढिरहेको थियो। उसले इजरायलले रुसलाई इरानसँग सैन्य द्वन्द्व नचाहेको संकेत गरे पनि यो आक्रमण भएको बताएको छ।
रुसी विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लगायत अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा शान्ति र स्थिरता ध्वस्त पार्ने यी गैरजिम्मेवार कदमहरूको तत्काल वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्ने माग गरेको छ।
‘वासिङ्टन र तेल अभिभले फेरि एकपटक खतरनाक जुवा खेलेका छन्, जसले यस क्षेत्रलाई मानवीय, आर्थिक र रेडियोलोजिकल प्रकोपतर्फ धकेलिरहेको छ,’ वक्तव्यमा भनिएको छ।
रुसले आक्रमणकारीहरूको मनसाय स्पष्ट भएको बताउँदै उनीहरूले इरानको संवैधानिक व्यवस्था नै ध्वस्त पार्ने र त्यहाँको नेतृत्वलाई नै समाप्त पार्ने उद्देश्य राखेको आरोप लगाएको छ। यस कृत्रिम संकटको नकारात्मक परिणामको सम्पूर्ण जिम्मेवारी अमेरिका र इजरायलमाथि नै हुने रुसको भनाइ छ।
रुसले अमेरिका–इजरायलको यो कदमले आणविक हतियार नफैल्याउने विश्वव्यापी प्रयासमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। आईएईएको सुरक्षामा रहेका आणविक प्रतिष्ठानहरूमा बमबारी गर्नु अस्वीकार्य भएको उसले बताएको छ।
रुसले अमेरिका र इजरायललाई तत्काल स्थितिलाई राजनीतिक–कूटनीतिक समाधानको बाटोमा फर्काउन माग गरेको छ। साथै, अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र हितको सन्तुलनका आधारमा शान्तिपूर्ण समाधान खोज्न रुस तयार रहेको पनि जनाएको छ।





