१ बैशाख २०८३, मंगलवार

मलामी बोकेको ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु, चालक नियन्त्रणमा

झापा, — झापाको कन्काई नगरपालिका–४ कोटीहोमस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा मलामी बोकेर गइरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ट्र्याक्टरका सहचालक तथा कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को. २ त ७४९७ नम्बरको ट्र्याक्टरबाट सहचालक दनुवार अचानक खसेका थिए।

ट्र्याक्टरबाट खस्दा गम्भीर घाइते भएका दनुवारलाई तत्काल उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। प्रारम्भिक उपचारपश्चात् थप उपचारको आवश्यकता देखिएपछि उनलाई बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो। तथापि, उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, घटनापश्चात् प्रहरीले ट्र्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button