१३ कार्तिक २०८३, बिहीबार

मुस्ताङमा एक अर्ब १४ करोड ९६ लाख रुपैयाँको स्याउ उत्पादन

ड्रागन मिडिया सम्वाददाता

मुस्ताङमा चालु वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा ६६२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट उक्त उत्पादन भएको हो।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार उच्च घनत्व प्रविधिमा आधारित स्याउ २३ करोड छ लाख रुपैयाँ बराबरको उत्पादन भएको छ। परम्परागत स्थानीय जातको स्याउको उत्पादन मूल्य ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ।

यस वर्ष जिल्लामा दुवै प्रकारका गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय जातको स्याउको उत्पादन छ हजार ७८ दशमलव ९२ मेट्रिक टन रहेको कार्यालयले जनाएको छ।

कृषि प्राविधिकले बगैँचामा पुगेर बाली कटानी विधिबाट औसत उत्पादन मापन गरेका थिए। उत्पादनको परिमाण अनुमान गर्न स्थानीय तहका कृषि प्राविधिक र किसानसँग पनि समन्वय गरिएको प्रमुख अर्यालले बताए।

कार्यालयका अनुसार जिल्लामा उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी भएको छ। १७ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्लाभित्रै खपत भएको छ।

उच्च घनत्व प्रविधिमा आधारित स्याउको मूल्य प्रतिकिलो २४० रुपैयाँ र परम्परागत स्थानीय स्याउको मूल्य प्रतिकिलो १५१ रुपैयाँ कायम गरिएको छ।

गत वर्ष मुस्ताङमा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष उत्पादन ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५ दशमलव २९ प्रतिशतले बढेको कार्यालयले जनाएको छ।

जिल्लामा स्याउ बगैँचाले ओगटेको कुल क्षेत्रफल ९१७ हेक्टर छ। त्यसमध्ये उच्च घनत्व प्रविधिमा आधारित स्याउको बगैँचा ७६ हेक्टर र परम्परागत स्थानीय जातको स्याउको बगैँचा ८४१ हेक्टरमा फैलिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button