दुई छिमेकीसँग सम्बन्ध विस्तारमा रास्वपा र सरकारको सक्रियता

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी नेतृत्वको सरकारले भारत र चीनसँगको सम्बन्ध विस्तारका लागि कूटनीतिक गतिविधि बढाएका छन्। पार्टीको चुनावी वाचापत्रमा नेपाललाई भारत र चीनबीच ‘गतिशील पुल’ बनाउने अवधारणा अघि सारिएको थियो।
रास्वपाले आफ्नो वाचापत्रमा नेपाललाई दुई ढुङ्गाबीचको तरुल वा ‘मध्यस्थ राज्य’का रूपमा हेर्ने दृष्टिकोणबाट अघि बढेर दुई छिमेकीबीच सम्पर्क र सहकार्यको सेतु बनाउने प्रस्ताव गरेको थियो। उक्त अवधारणामाथि विभिन्न कोणबाट टिप्पणी भएपछि पार्टीले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने बताएको थियो।
भारतको पाँचदिने औपचारिक भ्रमण सकेर फर्केपछि रास्वपा सभापति रवि लामिछानेले अस्पष्ट र अपारदर्शी सम्बन्धलाई अन्त्य गरी सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने काम भएको बताएका थिए। उनले नेपाल–भारत सम्बन्धका कूटनीतिक विषयलाई सडक, संसद् र सञ्चारमाध्यमका बहसभन्दा माथि राखेर संस्थागत रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।
रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालले गत असारमा चीनको औपचारिक भ्रमण गरेका थिए। बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो। वाङले छिमेकीको महत्त्व उल्लेख गर्दै नेपाल र चीनको निकटतालाई जोड दिएका थिए।
अन्तर्राष्ट्रिय मामिलाका जानकार पूर्वउपरथी बिनोज बस्न्यातका अनुसार रास्वपाले भारत र चीन दुवैलाई प्राथमिकतामा राखेको छ, तर भारतसँगको सम्बन्धलाई विशेष महत्त्व दिएको देखिन्छ। खुला सीमा, जनस्तरको निकटता र अन्य बहुआयामिक सम्बन्धका कारण भारतसँग बढी संवाद हुनु स्वाभाविक भए पनि चीनसँगको सहकार्य विस्तार गर्ने प्रयास पनि जारी रहेको उनको भनाइ छ।
पूर्वराजदूत निलाम्बर आचार्यले भने दुवै छिमेकीसँगको सम्बन्ध अझै अपेक्षित स्तरमा नपुगेको बताएका छन्। उनका अनुसार उच्चस्तरीय भ्रमण र द्विपक्षीय छलफल आवश्यक छन्। अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुलाई मात्र द्विपक्षीय भ्रमणका रूपमा लिन नमिल्ने उनको भनाइ छ।
रास्वपा सभापति लामिछानेले भारतको औपचारिक भ्रमणपछि हालै निजी भ्रमण पनि गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री खनाल, गृहमन्त्री सुधन गुरुङ र रास्वपा नेता मनिष झाले पनि भारत भ्रमण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको बताइएको छ।
चीनतर्फ पनि सरकार र रास्वपाका नेताहरूको भ्रमण तथा संवाद जारी छ। असोजको अन्तिम साता संसदीय दलका उपनेता गणेश पराजुलीसहितको टोली चीन भ्रमणबाट फर्किएको थियो। रास्वपाका प्रवक्ता जगदीश खरेल, नेता प्रमोद न्यौपाने, मनिष झा, मिलन पाण्डे तथा सांसद प्रकाश परियारले पनि चीन भ्रमण गरेका छन्। तिहारपछि महासचिव विपिनकुमार आचार्यको नेतृत्वमा अर्को टोली चीन जाने तयारीमा छ।
रास्वपा सभापति लामिछानेको सेप्टेम्बरमा चीन भ्रमण गर्ने तयारी भए पनि भ्रमण स्थगित भएको थियो। प्रधानमन्त्री शाहलाई चीन भ्रमणको निम्तो दिइएको छ, तर भ्रमणको मिति तय भइसकेको छैन। बस्न्यातका अनुसार चीनसँग विभिन्न तहमा संवाद र सहकार्य बढाउने काम भइरहेको छ।





