दसैँमा तीन हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण, तीन हजार अझै नाकामै

ड्रागन मिडिया सम्वाददाता
बाढीपहिरो, सडक अवरोध र उत्तरी सीमा नाकामा देखिएको समस्याका कारण दसैँमा अटोबजारले अपेक्षित गति लिन सकेन। व्यवसायीका अनुसार प्रतिकूल अवस्थाबीच तीन हजारभन्दा बढी नयाँ सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरिए पनि करिब तीन हजार सवारीसाधन अझै नाकामा रोकिएका छन्।
साउनमा आयोजित नाइमा मोबिलिटी एक्स्पो र भदौको दोस्रो साता सम्पन्न नाडा अटो शोमा उत्साहजनक बुकिङ भएपछि यस वर्ष दसैँमा अटोबजार चलायमान हुने अपेक्षा गरिएको थियो। तर भदौ १० गते भोटेकोशीमा आएको बाढी, असोजमा परेको अविरल वर्षा र उत्तरी नाकामा भएको अवरोधले सवारीसाधनको आपूर्ति प्रभावित भयो।
भदौ १० को बाढीले रसुवागढी नाका क्षतिग्रस्त बनाएको थियो। चीनले भदौ १४ देखि तातोपानी नाका बन्द गरेको थियो। असोज ८ देखि ११ सम्मको वर्षापछि आएको बाढीपहिरोका कारण कोरला नाका पनि करिब दुई सातासम्म बन्द हुँदा व्यवसायीलाई थप समस्या परेको थियो। असोज १० देखि १२ सम्मको भारी वर्षाले बीपी र पृथ्वी राजमार्गसहितका मुख्य सडकमा क्षति पुर्याएपछि ढुवानी झनै कठिन बनेको थियो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले दसैँको कारोबार व्यवसायीको अपेक्षाभन्दा निकै कम भएको बताए। उनका अनुसार सामान्यतः वर्षभरिको कारोबारको ठूलो हिस्सा दसैँमा हुने गरे पनि यस वर्ष बाढीपहिरो र आपूर्ति अवरोधका कारण अपेक्षित कारोबारको आधा पनि हुन सकेन। समयमै सवारीसाधन उपलब्ध गराउन नसक्दा केही ग्राहकले बुकिङ रद्द गरेको उनले बताए।
अटो व्यवसायी आकाश गोल्छाका अनुसार माग हुँदाहुँदै पनि आपूर्ति शृंखला प्रभावित भएकाले दसैँअघि बुकिङ भएका सबै सवारीसाधन ग्राहकलाई दिन सकिएन। दसैँमा रोकिएका हस्तान्तरण तिहार र त्यसपछि क्रमशः पूरा हुने उनको भनाइ छ।
हिमालयन अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले कोरला नाका दिनमा तीनदेखि चार घण्टामात्र खुल्ने र सडक अवरोधका कारण केरुङतर्फबाट पठाइएका सवारीसाधनसमेत बाटोमै रोकिएको बताए। उनका अनुसार संस्थाअन्तर्गतको म्याक्सस ब्रान्डका करिब ५० वटा सवारीसाधन नाकामै अड्किएका छन्। नाकाको सीमित सञ्चालन र ढुवानी अवरोधले मागअनुसार बजारमा सवारीसाधन पुर्याउन नसकिएको उनले बताए।
कम्पनीहरूले उपलब्ध गराएको विवरणअनुसार दसैँ अवधिमा तीन हजारभन्दा बढी सवारीसाधन ग्राहकलाई हस्तान्तरण भएका छन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले करिब ७०० वटा सवारीसाधन दिएको जनाएको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोपछिदेखि दसैँसम्म एक हजार १८५ वटा सवारीसाधन हस्तान्तरण गरेको जनाएको छ। पन्च ईभीको माग उच्च रहे पनि पर्याप्त आपूर्ति नहुँदा केही ग्राहक नेक्सन ईभीतर्फ आकर्षित भएको कम्पनीले जनाएको छ।
एमएडब्ल्यू समूहले दसैँसम्म डिपलका २३० र नाडा अटो शोपछिदेखि नामीका ५०० भन्दा बढी सवारीसाधन हस्तान्तरण गरेको जनाएको छ। शारडा समूहले ओमोडा, जेको र आइकारका ३०० भन्दा बढी सवारीसाधन डिलरमार्फत बिक्री गरेको जनाएको छ। सीजी मोटर्सले जीएसी आयोनका ४० वटा सवारीसाधन दसैँ अवधिमा ग्राहकलाई दिएको छ।
व्यवसायीका अनुसार अझै विभिन्न कम्पनीका करिब तीन हजार सवारीसाधन सीमाक्षेत्रमा रोकिएका छन्। अवरुद्ध सडक सञ्चालनमा आउन थालेपछि र नाकाबाट सवारीसाधन भित्रिन थालेपछि दसैँमा हुन नसकेका हस्तान्तरण तिहारसम्म पूरा हुने व्यवसायीको अपेक्षा छ। उनीहरूले सीमा नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न र भन्सार प्रक्रिया छरितो बनाउन सरकारसँग माग गरेका छन्।





