फागुन २१ : एउटै दिनको शहादत र पुनर्जीवन, मृत्युलाई दुईपटक पराजित गरेका केपी शर्मा ओली

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीवनमा आज अर्थात् फागुन २१ गतिलो संयोग बोकेर आएको छ। एकातिर आज ‘सुखानी शहीद दिवस’ अर्थात् निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको झापा आन्दोलनका क्रममा सहिद भएका पाँच योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन, अर्कोतिर आजकै दिन ६ वर्षअघि ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। उनले आजैका दिन दुईपटक मृत्युको मुखबाट फर्किएर पुनर्जीवन पाएको स्मरण गरेका छन्।
सामाजिक सञ्जालमार्फत ओलीले लेखेका छन्, ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो। आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’

झापा आन्दोलनको इतिहास कोट्याउँदै ओलीले त्यतिबेलाको निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको स्मरण गरेका छन्। त्यही क्रममा उनीसहितका योद्धालाई जेल हालिएको थियो। जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा लगेर हत्या गरियो। ओली भने त्यही घटनामा पनि मृत्युको मुखबाट फर्केर आए र १४ वर्ष कठोर कारावास बिताए।
देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका ती अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ओलीले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्। राजनीतिक जीवनमा धेरै उतारचढाव देखेका ओलीको यो संयोग र भावुक अभिव्यक्तिले उनको व्यक्तिगत संघर्ष र राष्ट्रिय आन्दोलनको अटुट सम्बन्धलाई उजागर गरेको छ।





