जनताको जित : निर्वाचनले गणतन्त्रप्रतिको विश्वासलाई अझ सुदृढ बनायो : केपी शर्मा ओली

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई जनताको ऐतिहासिक जितको रूपमा व्याख्या गरेका छन्। एक जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको निर्वाचन तमाम आशंकाहरूलाई चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको भन्दै उनले यसका लागि सबै पक्षलाई धन्यवाद दिएका छन्।
ओलीले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज र सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। ‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ,’ उनले भनेका छन्।
उनले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्। निर्वाचनले लोकतन्त्रको मर्मलाई जीवन्त बनाएको भन्दै ओलीले यसलाई नेपाली जनताको राष्ट्रप्रतिको प्रतिबद्धताको रूपमा लिएको बताएका छन्।





