मतपेटिका ‘अपहरण’ शंकाप्रति नेपाल राष्ट्रिय युवा पार्टीद्वारा छानबिनको माग

काठमाडौं, नेपाल – नेपाल राष्ट्रिय युवा पार्टीले देशभर एकसाथ सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक प्रतिनिधिहरू बिना नै मतपेटिका सेनाको गाडीमा हालेर लगिएको र हाल ती मतपेटिका गोप्य कोठामा राखिएको भन्ने सार्वजनिक विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लोकतन्त्रको जग मानिने निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा पारदर्शिता र विश्वसनीयता सबैभन्दा ठुलो पुँजी हुने भए पनि, पार्टी एजेन्टहरूको अनुपस्थितिमा भएको ढुवानीले समग्र प्रक्रियामाथि नै गम्भीर प्रश्न उठेको पार्टीले बताएको छ।

यस घटनाले जनताको सार्वभौम मताधिकारमाथि प्रश्न चिह्न खडा गरेको भन्दै नेपाल राष्ट्रिय युवा पार्टीले तत्काल पारदर्शी छानबिनको माग गरेको छ। पार्टीका प्रचारप्रसार विभागद्वारा जारी विज्ञप्तिमा नेकपा (एमाले), नेपाली कांग्रेसलगायत अन्य दलहरूले समेत यस घटनाको कडा विरोध गरेको जानकारी आएको उल्लेख गरिएको छ।

युवा पार्टीले सम्बन्धित निकायसमक्ष निम्न मागहरू प्रस्तुत गरेको छ:

· घटनाको तत्काल निष्पक्ष एवं पारदर्शी छानबिन गरियोस्।
· मतपेटिका ढुवानी र सुरक्षाको सम्पूर्ण प्रक्रियाको जानकारी सार्वजनिक गरियोस्।
· अनियमितता प्रमाणित भएमा कानुनी कारबाही गरियोस्।
· भविष्यमा सबै दलका प्रतिनिधिको उपस्थितिमा मात्र निर्वाचन सामग्री व्यवस्थापन सुनिश्चित गरियोस्।

लोकतान्त्रिक मूल्य र निष्पक्ष निर्वाचनप्रति आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल राष्ट्रिय युवा पार्टीले जनताको विश्वास कायम राख्न सम्बन्धित निकायले तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा दृढता व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button