निर्वाचन सम्पन्न हुनु : सामूहिक सफलता, अब देशको दीर्घायूका लागि एकजुट हौं

काठमाडौं / नेपाल-चीन पारस्परिक सहयोग समाजले सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई नेपाली जनताको सामूहिक चेतना र लोकतन्त्रप्रतिको अटल विश्वासको प्रतिफलका रूपमा लिएको छ। यो निर्वाचनबाट कसले जित्छ र कसले हार्छ भन्नेभन्दा पनि निर्धारित समयमै शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नै ठूलो उपलब्धि हो। निर्वाचन हुन नसकेको भए मुलुक अराजकता र भयावह परिस्थितितर्फ धकेलिने निश्चित थियो।
यस ऐतिहासिक उपलब्धिमा हामी सबैको योगदान छ। कुनै एक व्यक्ति वा दलले मात्र यसको श्रेय पाउनु हुँदैन। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू निर्वाचनमा सहभागी नभएको भए, सुरक्षा निकायले कर्तव्यनिष्ठ भई काम नगरेको भए, निर्वाचन आयोग र समस्त कर्मचारीहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निभाएको भए, राष्ट्रपतिले दल र सरकारबीच अभिभावकीय भूमिका निर्वाह नगरेको भए, आम नागरिक, सञ्चारमाध्यम र बुद्धिजीवीहरूले सकारात्मक चुनावी माहोल निर्माणमा सहयोग नगरेको भए, र सबैभन्दा महत्वपूर्ण कुरा, लाखौंलाख मतदाताहरू मतदानमा सहभागी नभएको भए यो निर्वाचन सम्भव नै थिएन।
त्यसकारण, यो सफलता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासको परिणाम हो। यसैले हामी कसैलाई ‘देवत्वकरण’ गर्ने, कसैलाई असाधारण र असंवैधानिक जिम्मेवारीको लागि उचाल्ने र फुर्काउने प्रवृत्तिबाट माथि उठ्नु पर्दछ। लोकतन्त्रमा सबै संस्था र पात्र आ-आफ्नो सीमाभित्र रहेर क्रियाशील हुन्छन्। कसैलाई असंवैधानिक शक्तिको केन्द्र बनाउने प्रयासले देशलाई दीर्घकालीन अस्थिरतातर्फ धकेल्न सक्छ।
हामी अझै पूर्ण रूपमा सफल भइसकेका छैनौं। अझै धेरै चुनौतीहरू बाँकी छन्। आर्थिक समृद्धि, सामाजिक एकता, सुशासन र विकासका मोर्चामा हामीले धेरै यात्रा तय गर्न बाँकी छ। त्यसैले अबको आवश्यकता भनेको दलगत स्वार्थभन्दा माथि उठेर देशको दीर्घायू र समृद्धिका लागि एकजुट हुनु हो।
नेपाल-चीन पारस्परिक सहयोग समाज यस कठिन घडीमा देशको स्थिरता, सामाजिक एकता र सहज राजनीतिक वातावरण कायम राख्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम नागरिकमा अपिल गर्दछ कि हामी सबै मिलेर देशको दीर्घायूको कामना गरौं र यसको सार्थक प्रयास गरौं।
नेपाल-चीन मैत्री अमर रहोस्!






