विश्व मिडियाको नजरमा नेपाल : बालेनको रकस्टार छवि र जेन–जीको राजनीतिक उदय

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालको राजनीतिक परिदृश्यमा देखिएको सम्भावित परिवर्तनलाई विशेष चासोका साथ हेरेका छन्। शुक्रबार साँझसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ, जसलाई अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्धको जनादेशका रूपमा व्याख्या गरेका छन्।
अमेरिकी समाचार संस्था सीएनएनले ‘नेपालको प्रारम्भिक मतगणनामा पूर्व र्यापर बालेनको पार्टीको अग्रता’ शीर्षकमा समाचार प्रकाशित गर्दै ३५ वर्षीय बालेन्द्र शाह (बालेन) लाई नेपालको भावी प्रधानमन्त्रीको दौडमा अघि रहेको उल्लेख गरेको छ। बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारले त नेपालमा बालेनको ख्याति ‘रकस्टार’ जस्तै रहेको टिप्पणी गरेको छ।
बेलायती सञ्चारमाध्यम बीबीसीले बालेनको सम्भावित जितले नेपालको निष्क्रिय शासन प्रणालीमा कम्पन ल्याउने विश्लेषण गरेको छ। ‘यदि बालेनले जिते भने यसले दशकौंदेखि तीन प्रमुख दलको प्रभुत्वमा रहेको नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याउनेछ,’ बीबीसीको समाचारमा उल्लेख छ।
रोयटर्सले ‘युवा नेतृत्वको प्रदर्शनपछि मतदाताले परिवर्तन खोज्दै’ शीर्षकमा समाचार लेखेको छ भने गार्डियनले ‘पुरानाविरुद्ध शक्तिशाली युवा अभियानको लडाइँ’ का रूपमा निर्वाचनलाई व्याख्या गरेको छ। ब्लुम्वर्गले पनि नेपालका युवा र्यापर बालेन शाह पुराना नेतासँग लडाइँमा रहेको चर्चा गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूले पनि बालेनको पहिचानमा चासो देखाएका छन्। इन्डिया टुडेले मैथिलीभाषी बालेन नेपालको मधेशी पहिचान भएको उल्लेख गरेको छ भने द इकोनोमिक टाइम्सले ‘को हुन् बालेन शाह?’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।
जर्मन सञ्चारमाध्यम डिडब्लूले ‘साँचो राजनीतिक सुधारको आसमा जेन–जी’ शीर्षकमा समाचार लेख्दै यस निर्वाचनमा जेन–जी पुस्ताका उम्मेदवारको संख्या निकै कम रहेको तथ्य पनि उजागर गरेको छ। करिब ५ प्रतिशत मात्र युवा उम्मेदवार रहेको र संरचनागत अवरोध तथा राजनीतिक संस्कारले युवालाई नेतृत्व दिन कठिनाइ भएको विश्लेषण गरिएको छ।
द टेलिग्राफ यूकेले भने ‘अधिनायकवादी पूर्व र्यापरको पक्षमा जेन–जी’ शीर्षकमा समाचार प्रकाशित गर्दै बालेनको महानगर प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ। काठमाडौंमा कानुनशास्त्र पढिरहेका २५ वर्षका माजिद अन्सारीले बालेनले महानगर प्रहरीलाई गरेको प्रयोग र त्यसले अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषक तुलानारायण साहले जेन–जी अभियानलाई बालेनले हाइज्याक गरिसकेको र अब विभिन्न शक्तिकेन्द्रको खेल सुरु हुने टिप्पणी गरेका छन्।
एसोसिएट प्रेस (एपी) ले नेपालमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै नयाँ सरकारलाई जेन–जी आन्दोलनका माग सम्बोधन, भ्रष्टाचार नियन्त्रण र दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने चुनौती रहेको विश्लेषण गरेको छ।
रुसी सरकारी सञ्चारमाध्यम आरटीले नेपालको युवा नेतृत्वको आन्दोलनलाई लिएर दुईथरी मत रहेको उल्लेख गरेको छ। ‘केहीले यसलाई पुराना पार्टीहरू पाखा लाग्ने अवसरका रूपमा हेरेका छन् भने अर्कोथरीले वैध पार्टीलाई कमजोर बनाउने गरी विदेशी शक्तिले नै प्रदर्शन चलाएको तर्क गरिरहेका छन्,’ आरटीको फिचरमा उल्लेख छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समाचार र विश्लेषणले नेपालको यो निर्वाचन केवल आन्तरिक राजनीतिक परिवर्तनको लागि मात्र नभई क्षेत्रीय भूराजनीतिमा समेत प्रभाव पार्न सक्ने संकेत गरेको छ। बालेनको नेतृत्वमा रहेको रास्वपाको प्रदर्शन र युवा मतदाताको उत्साहले नेपाली राजनीतिमा नयाँ अध्यायको सुरुवात हुने सम्भावना छ, तर त्यसले पुराना राजनीतिक शक्ति र संरचनासँगको सङ्घर्षलाई पनि जन्माउने देखिन्छ।





