०८२ को चुनावले देखायो; जनमत केन्द्रित राजनीति अब अपरिहार्य

सम्पादकीय

प्रतिनिधिसभा निर्वाचन २०८२ ले नेपाली राजनीतिको परम्परागत ढाँचामा ठूलो चुनौती प्रस्तुत गरेको छ। विगतका दशकदेखि नेपालका प्रमुख पार्टीहरू कम्युनिस्ट र काङ्ग्रेस सङ्गठित सदस्यता, पार्टी संरचना र आन्तरिक भागबन्डामा धेरै निर्भर भइरहेका थिए। तर यसपटक जनताले स्पष्ट सन्देश दिएका छन्, अब राजनीति आम नागरिक, युवापुस्ता र वास्तविक जनभावनासँग जोडिनुपर्ने छ।

छोटो अध्ययन, जनताको वास्तविक असन्तुष्टि, निराशा र समस्या बुझ्न नसक्नु नै परम्परागत पार्टीहरूको हारको मुख्य कारण बनेको छ। ०३६ र ०४६ बाट आएको पुस्ताले पनि यी पार्टीहरूमा विश्वास गुमाइसकेको थियो। छलछाम, पुराना साम्यवाद, नयाँ जनवाद, प्रजातान्त्रिक समाजवाद र बिपीको मन्त्रजस्ता आदर्शले जनताको मन जित्न सकेनन्। भ्रष्टाचार, कमिसन, व्यक्तिगत स्वार्थ र नेतृत्वको ढिलो प्रतिक्रिया जनताको सम्बन्ध पार्टीसँग कमजोर पार्दा आउँदो दिनमा स्थायित्व कायम राख्न कठिन भयो।

यस चुनावले देखाएको अर्को महत्वपूर्ण कुरा के हो भने सञ्चालित शक्ति र संस्थागत संरचना मात्र पर्याप्त छैन। स्थानीय र प्रदेशस्तरका जनप्रतिनिधिहरूले वास्तविक जनसंवाद, जिम्मेवार नेतृत्व र पारदर्शिता देखाउन सकेनन् भने जनता नयाँ विकल्पतिर आकर्षित हुन्छन्। यही कारण रास्वपा र बालेन जस्ता व्यक्तित्वले जनमतको भरोसा पाएका छन्।

विश्लेषकहरूले पनि औँल्याउँछन् कि ०६४ सालको माओवादी पार्टी, जसले मुलुकलाई खर्लप्प पार्ने शक्ति देखाएको थियो, आज कमजोर बनेको छ। यसको धेरै कार्यकर्ता अहिले रास्वपातिर आकर्षित भएका छन्। नेपाली कांग्रेस र एमालेका केही असन्तुष्ट कार्यकर्ताले आफ्ना भोट नयाँ विकल्पतिर सार्दै परम्परागत ढाँचालाई चुनौती दिएका छन्।

यसरी हेर्दा ०८२ को चुनाव केवल विजेता–पराजितको कथा मात्र होइन। यो चुनावले स्पष्ट संकेत दिएको छ, अब राजनीति पार्टी संरचना र भागबन्डामा सीमित रहन सक्दैन, जनमत केन्द्रित, पारदर्शी र वास्तविक नेतृत्व आवश्यक छ।

आउँदो दिनमा नेपालको राजनीतिको केन्द्र बिन्दु अब आम जनमानस, युवापुस्ता र जनभावना हुनेछ। पार्टी र नेता जसले जनविश्वास जित्नेछन्, उनीहरूलाई मात्र टिकाउ राजनीतिक शक्ति मिल्नेछ। यही नै ०८२ को चुनावले दिएको सबभन्दा ठूलो पाठ हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button