पुटिन–ट्रम्प वार्ता : इरान–युक्रेन संकट समाधानको नयाँ अभियान

काठमाण्डौ, / रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत साँझ करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको छ। रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले दिएको जानकारी अनुसार यो वार्ता व्यावसायिक, खुला र रचनात्मक रहेको थियो।
सन् २०२५ को डिसेम्बरपछि पहिलो पटक भएको यस कुराकानीमा दुवै नेताले अन्तर्राष्ट्रिय परिस्थितिका विविध पक्षमा छलफल गरेका छन्। ट्रम्पले स्वयं पुटिनलाई फोन गरी वार्ताको पहल गरेका थिए।
वार्ताको केन्द्रविन्दुमा इरान संकट र युक्रेन मामिला रहेको उशाकोवले बताएका छन्। इरान संकटको राजनीतिक–कूटनीतिक समाधानका लागि पुटिनले खाडी मुलुकका नेता तथा इरानी राष्ट्रपति मसूद पेजेस्कियनसँगको छलफललाई आधार बनाउँदै आ-आफ्ना धारणा राखेका थिए। त्यसैगरी ट्रम्पले अमेरिका–इजरायल सहकार्यमा भइरहेको कारबाहीको विषयमा आफ्नो मूल्यांकन प्रस्तुत गरेका छन्।
युक्रेन मामिलामा ट्रम्पले युद्धविरामका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए भने पुटिनले रुसी सेनाको सफल प्रगति उल्लेख गर्दै कीभलाई वार्ताको बाटोमा आउन दबाब सिर्जना भएको बताए। ट्रम्पको टोलीले गरिरहेको मध्यस्थता प्रयासको रुसी पक्षले सकारात्मक मूल्यांकन गरेको छ।
दुई नेताबीच भेनेजुएलाको विषयमा पनि छलफल भएको थियो, विशेष गरी विश्व तेल बजारमा त्यसको प्रभावका सन्दर्भमा।
वार्ताका क्रममा दुवै नेताले नियमित संवाद जारी राख्ने प्रतिबद्धता जनाएका छन्। यस वार्ताले अन्तर्राष्ट्रिय राजनीतिका विविध आयाममा व्यावहारिक महत्त्व राख्ने उशाकोवको भनाइ छ।





