नेपाल–रसिया पर्यटन सम्बन्ध : मस्को प्रदर्शनीमा ७०औँ वर्षको विशेष आकर्षण

काठमाण्डौ / नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धनले नयाँ आयाम पाउने भएको छ। नेपाली राजदूतावास, मस्कोका अनुसार नेपाल पर्यटन बोर्ड र देशका प्रमुख ट्राभल कम्पनीहरूको टोली मस्कोमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन तथा आतिथ्यता प्रदर्शनीमा सहभागी हुने भएको छ।
मार्च ११ देखि १३ तारिखसम्म ‘क्रोकस एक्स्पो’ प्रदर्शनी केन्द्रमा हुने यस भव्य आयोजनामा नेपालले आफ्नो पर्यटकीय सम्भावना र सांस्कृतिक विविधताको झल्को दिनेछ। नेपाली टोली पहिलो प्याभिलियनमा रहेर प्रदर्शनीमा सहभागिता जनाउने कार्यक्रम छ।
रसिया–नेपाल कूटनीतिक सम्बन्धको सात दशक लामो इतिहासलाई पर्यटन प्रवर्द्धनमार्फत अझ सुदृढ बनाउने उद्देश्यले यो सहभागिताले थप मजबुती प्रदान गर्ने विश्वास गरिएको छ। पर्यटन क्षेत्रमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिन यस प्रदर्शनीले कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा नेपाली टोलीले हिमाल, संस्कृति, जैविक विविधता तथा साहसिक पर्यटनका विविध आयामहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसले रसियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने विश्वास गरिएको छ।





