समानुपातिक मतगणना सकियो : रास्वपा सबैभन्दा ठूलो शक्ति, दुई तिहाइ नजिक संसदको नयाँ समीकरण

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै आगामी संसदको शक्ति सन्तुलनको प्रारम्भिक चित्र स्पष्ट हुन थालेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। यही मतका आधारमा प्रतिनिधिसभाका ११० समानुपातिक सिट दलहरूबीच बाँडफाँट गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीअनुसार सिट बाँडफाँट गर्ने स्पष्ट कानुनी व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा गरिएको छ। यस प्रक्रियामा सबैभन्दा पहिले सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ। त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मतको प्रतिशत निर्धारण गरिन्छ। सो प्रतिशतका आधारमा सिट बाँडफाँटको गणितीय प्रक्रिया अघि बढाइन्छ।

यसपटक समानुपातिकतर्फ प्राप्त मतमध्ये सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ। रास्वपाले ५१ लाख ३९ हजार २३५ मत अर्थात् ४७.८६ प्रतिशत मत प्राप्त गरेको छ। त्यसपछि नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत (१६.२९ प्रतिशत), नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत (१३.४९ प्रतिशत) र नेकपाले ८ लाख ५ हजार ७७३ मत (७.५० प्रतिशत) प्राप्त गरेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत (३.५३ प्रतिशत) तथा राप्रपाले ३ लाख २९ हजार ४७२ मत (३.०७ प्रतिशत) मत प्राप्त गरेका छन्।

तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले समानुपातिक सिट बाँडफाँटमा भाग लिन कम्तीमा ३ प्रतिशत मत अनिवार्य प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ, जसलाई ‘थ्रेसहोल्ड’ भनिन्छ। यसपटक जसपा (१.६२ प्रतिशत), जनमत पार्टी (०.७३ प्रतिशत) तथा अन्य साना दलहरूले उक्त सीमा पार गर्न सकेनन्। त्यसैले ती दलले प्राप्त गरेका मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुने छैनन्।

यस आधारमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने ६ वटा दल मात्रै समानुपातिक सिट बाँडफाँटमा सहभागी हुनेछन्। ती दलहरूले प्राप्त गरेको कुल मत जोड्दा ९८ लाख ५१ हजार ५६६ पुग्छ। यही कुल मतलाई समानुपातिकतर्फको ११० सिट ले भाग गर्दा ८९ हजार ५६० मत बराबर एक सिट पर्ने देखिन्छ। यसलाई ‘भाजक’ भनिन्छ।

त्यसपछि निर्वाचन ऐनअनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरी प्रत्येक दलले प्राप्त गर्ने सिट निर्धारण गरिन्छ। पहिलो चरणमा दलले पाएको मतलाई उक्त भाजकले भाग गरेर प्रारम्भिक सिट संख्या निकालिन्छ।

यस हिसाबले रास्वपाले प्राप्त गरेको ५१,३९,२३५ मतलाई भाजक ८९,५६० ले भाग गर्दा ५७.३६ आउँछ। त्यसअनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ र ३४,३१५ मत बाँकी रहन्छ।

त्यसैगरी कांग्रेसले १७,४९,५८३ मत प्राप्त गरेकाले सोही भाजकका आधारमा १९ सिट पाउँछ र ४७,९४३ मत बाँकी रहन्छ।

एमालेले १४,४८,८५४ मत प्राप्त गरेकाले १६ सिट पाउँछ र १५,८९४ मत बाँकी रहन्छ।

नेकपाले ८,०५,७७३ मत प्राप्त गरेकाले ८ सिट प्राप्त गरी ८९,२९३ मत बाँकी रहन्छ।

त्यस्तै श्रम संस्कृति पार्टीले ३,७८,६४९ मत प्राप्त गरी ४ सिट पाउँछ र २०,४०९ मत बाँकी रहन्छ।

राप्रपाले ३,२९,४७२ मत प्राप्त गरी ३ सिट पाउँछ र ६०,७९२ मत बाँकी रहन्छ।

यसरी पहिलो चरणमा सबै दलले प्राप्त गरेको सिट जोड्दा १०७ सिट मात्र पुग्छ। बाँकी ३ सिट भने दलहरूको बाँकी मतको आधारमा बाँडफाँट गरिन्छ। जसको बाँकी मत बढी हुन्छ, त्यही दलले थप सिट प्राप्त गर्ने व्यवस्था छ।

बाँकी मतको सूची हेर्दा क्रमशः नेकपा (८९,२९३), राप्रपा (६०,७९२) र कांग्रेस (४७,९४३) शीर्ष तीन स्थानमा देखिन्छन्। त्यसैले बाँकी रहेका तीन सिट क्रमशः नेकपा, राप्रपा र कांग्रेसलाई एक–एक सिट थपिने देखिन्छ।

यस आधारमा समानुपातिकतर्फ अन्तिम सिट बाँडफाँट यस प्रकार देखिन्छ —
रास्वपा ५७ सिट, कांग्रेस २० सिट, एमाले १६ सिट, नेकपा ९ सिट, श्रम संस्कृति ४ सिट र राप्रपा ४ सिट।

समानुपातिक सिटलाई प्रत्यक्ष निर्वाचनबाट प्राप्त सिटसँग जोड्दा आगामी संसदको सम्भावित शक्ति सन्तुलन अझ स्पष्ट देखिन्छ। यस अनुसार रास्वपाले प्रत्यक्षतर्फ प्राप्त १२५ सिटसँगै समानुपातिकका ५७ सिट जोड्दा कुल १८२ सिट पुग्ने देखिन्छ।

त्यस्तै कांग्रेसको १८ प्रत्यक्ष र २० समानुपातिक गरी ३८ सिट, एमालेको ९ प्रत्यक्ष र १६ समानुपातिक गरी २५ सिट, नेकपाको ८ प्रत्यक्ष र ९ समानुपातिक गरी १७ सिट, श्रम संस्कृतिको ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सिट, तथा राप्रपाको १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ सिट पुग्ने देखिएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। हालको गणनाअनुसार १८२ सिट पाएको रास्वपा दुई तिहाइको जादुई अंकभन्दा केवल २ सिटले पछाडि देखिएको छ।

यद्यपि यो गणना प्राप्त मतका आधारमा गरिएको प्रारम्भिक विश्लेषण हो। अन्तिम आधिकारिक नतिजा सार्वजनिक भएपछि केही साना परिवर्तन हुन सक्ने सम्भावना रहे पनि हालको मत प्रवृत्तिले आगामी संसदमा रास्वपा प्रमुख शक्ति बनेर उदाउने संकेत स्पष्ट देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button