९ बैशाख २०८३, बुधबार

टाइम पत्रिकाको ‘प्रभावशाली १००’ सूचीमा प्रधानमन्त्री शाहसहित विश्वका शीर्ष नेता, चिनियाँ सञ्चारमाध्यममा भने मौनता

काठमाडौं, — अमेरिकी पत्रिका ‘टाइम’ ले सन २०२६ का लागि विश्वका सय जना सर्वाधिक प्रभावशाली व्यक्तित्वहरूको सूची ‘द मस्ट इन्फ्लुएन्सियल पिपुल अफ २०२६’ सार्वजनिक गरेको छ। उक्त सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नाम समावेश भएको छ। यसका अतिरिक्त चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री, इजरायली प्रधानमन्त्री तथा बंगलादेशी प्रधानमन्त्री लगायत विश्वका विभिन्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू पनि सूचीमा परेका छन्।

टाइम पत्रिकाले उक्त सूची सार्वजनिक गरेपछि नेपाली सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रधानमन्त्री शाहको समर्थन र प्रशंसामा लामा लामा सामग्रीहरू प्रकाशित भएका छन्। कतिपय भारतीय सञ्चारमाध्यमहरूले समेत प्रधानमन्त्री शाहलाई पछिल्लो दक्षिण एसियाली राजनीतिक घटनाक्रमसँग जोडेर विश्लेषण गरेका छन्।

यसको विपरीत, चीनका अधिकांश सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्महरूमा भने राष्ट्रपति सी जिनपिङलाई टाइम पत्रिकाले उक्त सूचीमा समावेश गरेको विषयलाई खासै प्राथमिकता दिइएको पाइएको छैन। पश्चिमा मिडियाले प्रदान गर्ने यस्ता उपमा र विशेषणहरूप्रति चिनियाँ पक्षको आफ्नै भिन्न धारणा रहँदै आएको विश्लेषकहरूको भनाइ छ।

विश्व राजनीतिको परिप्रेक्ष्यमा हेर्दा कुनै पनि राजनीतिज्ञ वा राष्ट्रप्रमुख विचार, सिद्धान्त र महाशक्तिको हैसियतका आधारमा अरूको तुलनामा प्रभावशाली हुनसक्ने मान्यता रहेको छ। तथापि, पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ‘इन्फ्लुएन्स’ र ‘इन्फ्लुएन्सर’ जस्ता शब्दावलीले राजनीतिक गाम्भीर्यतालाई खुम्च्याउने गरेको भन्दै कतिपय मुलुकका नेताहरूले यस्तो सूचीकरणलाई प्राथमिकता नदिएको मान्न सकिन्छ।

नेपालमा कुनै नेपाली नागरिक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सूचीमा पर्नासाथ त्यसलाई राष्ट्रिय गौरवको विषयका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहँदै आएको छ। पछिल्लो समय सामाजिक सञ्जालले यसलाई थप मलजल गरेको देखिन्छ। भारतीय सञ्चारमाध्यमहरूले भने यस्ता विषयलाई क्षेत्रीय राजनीति र रणनीतिक स्वार्थसँग जोडेर व्याख्या गर्ने गरेका छन्।

चीनको सन्दर्भमा भने परिस्थिति फरक रहेको देखिन्छ। चीनको आन्तरिक प्रचार प्रणाली तथा सूचना सञ्जाल सुदृढ रहेकाले पश्चिमा सञ्चारमाध्यमहरूले निर्धारण गरेको मान्यता वा वर्गीकरणलाई कम महत्त्व दिइनु स्वाभाविक मानिन्छ। चिनियाँ पक्षले सामाजिक सञ्जालमा प्रयोग हुने ‘इन्फ्लुएन्स’ र ‘इन्फ्लुएन्सर’ जस्ता पदावलीले राजनीतिक गम्भीरतालाई कमजोर बनाउने धारणा राख्दै आएको छ।

विश्लेषकहरूका अनुसार विश्व राजनीतिमा अहिले पनि सैन्य शक्ति, अर्थतन्त्रको आकार र कूटनीतिक क्षमता नै राष्ट्रिय शक्तिको प्रमुख आधार मानिन्छन्। तिनको परिचालनका माध्यममा प्रविधि र सञ्चारको प्रयोग बढेको भए पनि शक्तिको मूल जरा भने सेना, अर्थतन्त्र र कूटनीति नै रहनेमा विमति छैन। यसैले परम्परागत राजनीतिक नेतृत्व र कूटनीतिक व्यक्तित्वलाई सेलिब्रिटी वा कन्टेन्ट सिर्जनाकर्तासँग दाँज्ने पश्चिमा प्रवृत्तिलाई विश्वका धेरै मुलुकहरूले अझै पनि स्वीकार नगरेको देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button