प्रधानमन्त्री बालेनको भिन्न कार्यशैली : सिंहदरबार बन्यो ‘कमाण्ड सेन्टर’, संसद्मा मौनताले उठ्यो प्रश्न

काठमाडौं, वैशाख ५ — गत चैत १३ गते मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विगतका प्रधानमन्त्रीहरूभन्दा भिन्न कार्यशैली अपनाएका छन्। पदभार ग्रहण गरेदेखि नै उनले आफ्नो मुख्य कार्यक्षेत्र सरकारी निवास बालुवाटारलाई नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बनाएका छन्। झन्डै तीन हप्तादेखि उनले सिंहदरबारमा ‘म्याराथन’ शैलीमा भेटघाट र प्रशासनिक कार्यलाई अगाडि बढाइरहेका छन्।
प्रधानमन्त्री शाह बिहान प्रायः पौने ९ बजे नै सिंहदरबार प्रवेश गर्छन् र साँझ साढे ५ बजेसम्म मन्त्रालय एवं सचिवालयकै काममा व्यस्त रहन्छन्। उनले प्रधानमन्त्री कार्यालयमा एउटा कडा नियम बनाएका छन्— राजनीतिक गफगाफ निषेध। उनको सचिवालयका अनुसार त्यहाँ मन्त्रालयहरूका कामको निगरानी, अनुगमन र समन्वय मात्र हुने गर्छ। प्रधानमन्त्री भएपछि नेपाली सेनाको एउटा औपचारिक कार्यक्रमबाहेक उनी अन्य कुनै पनि सार्वजनिक वा उद्घाटन कार्यक्रममा सहभागी भएका छैनन्। सचिवालयका एक सदस्य भन्छन्, ‘अहिलेको मुख्य लक्ष्य सरकारलाई सफल बनाउनु र परिणाम दिनु हो।’
प्रधानमन्त्री शाहले बजेट निर्माण र स्थानीय समस्या बुझ्न सातै प्रदेशका प्रत्यक्ष तथा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरूसँग छुट्टाछुट्टै सामूहिक भेटघाट गरेका छन्। चैत १६ गते कोशी र कर्णाली, १७ गते सुदूरपश्चिम, १८ गते मधेश, २० गते गण्डकी, २४ गते लुम्बिनी र ३० गते बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। वैशाख ३ गते पाँच प्रदेशका मुख्यमन्त्रीहरूसँग पनि सामूहिक छलफल गरेका थिए।
चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित १७ भन्दा बढी देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरे। भारत, चीन, अमेरिका, बेलायतलगायत राष्ट्रका प्रतिनिधिसँगको सामूहिक भेटलाई कूटनीतिक विज्ञहरूले समय व्यवस्थापनको उत्कृष्ट नमुना मानेका छन्।
संसद्मा मौनताले उठ्यो प्रश्न
प्रतिनिधिसभाको झन्डै दुईतिहाइ मतको विश्वासमा प्रधानमन्त्री बनेका शाहले एक शब्द पनि नबोली संसद्को पहिलो अधिवेशन अन्त्य भयो। नयाँ संसद् सञ्चालनको ९ दिनमा बसेका ६ वटा बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। कतिपय विषयमा सांसदहरूले प्रधानमन्त्रीकै जवाफ मागेका थिए, जसलाई उनले बेवास्ता गरिदिए।
जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म सदनमा नबोलेको भन्दै आलोचना गरेकी छन्। उनले भनेकी छन्, ‘जनतालाई प्राविधिक समाधान मात्र होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिन्छ। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी शैलीभन्दा लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य सञ्चालन गरिनुपर्छ। संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु तपाईंको कर्तव्य हो।’
प्रशासनविद्को टिप्पणी : मिश्रित अभ्यास
पूर्वमुख्यसचिव लीलामणि पौडेलले प्रधानमन्त्री नियमित रूपमा सिंहदरबार जानु र कार्यालयबाटै प्रशासनिक नेतृत्व लिनुलाई अत्यन्त सकारात्मक कदम मानेका छन्। तर, लामो समयसम्म संसद्मा सम्बोधन नगरेको र राष्ट्रका नाममा सन्देश नदिएको विषयमा भने उनले गम्भीर प्रश्न उठाएका छन्। पौडेल भन्छन्, ‘कार्यालयमा बसेर काम गर्नु एउटा पक्ष हो, तर नागरिकसँग संवाद नगर्ने, सार्वजनिक विमर्शमा नआउने र संसद्मा सम्बोधन नगर्ने कुरा लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन।’
अर्का पूर्वप्रशासक शारदाप्रसाद त्रितालले भने प्रधानमन्त्रीको यो शैलीलाई ‘एक्सन–ओरिएन्टेड’ नेतृत्वको रूपमा व्याख्या गरेका छन्। उनी भन्छन्, ‘हामीकहाँ प्रधानमन्त्री हुनासाथ लामो भाषण गर्ने र ठुला सपना बाँड्ने चलन छ। तर बालेनले पहिले कामको लय मिलाउँछु अनि मात्र बोल्छु भन्ने शैली अपनाएको देखिन्छ। संसद्मा बोल्नुपर्छ, त्यो लोकतान्त्रिक अभ्यास हो। तर हतारमा भाषण गर्नुभन्दा परिणाम देखिने गरी तयारी गरेर बोल्नु परिपक्वता हो।’
प्रधानमन्त्री शाहले सिंहदरबारलाई कार्यकारी शक्तिको वास्तविक केन्द्र बनाएको र प्रशासनिक सक्रियतालाई नयाँ उचाइ दिएको भन्दै प्रशंसा भइरहँदा संसद् र सार्वजनिक संवादप्रतिको उनको मौनताले भने मिश्रित प्रतिक्रिया निम्त्याएको छ।





