इरानमाथिको आक्रमणविरुद्ध रूसको कडा प्रतिक्रिया : अमेरिका र इजरायललाई तत्काल रोक्न अल्टिमेटम

जेनेभा / संयुक्त राष्ट्र मानवाधिकार परिषद्को ६१औं सत्रमा इरानको मानवाधिकार अवस्थाबारे भएको अन्तरक्रियात्मक संवादमा रूसी प्रतिनिधिले अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। रूसले पश्चिमा मुलुकहरूद्वारा सार्वभौम राष्ट्र इरानमाथि भइरहेको हस्तक्षेप र आक्रामकताको भत्र्सना गर्दै तत्काल रोक्न माग गरेको छ।
“संयुक्त राष्ट्र सनद र अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दै अमेरिका र इजरायलले सार्वभौम तथा स्वतन्त्र संयुक्त राष्ट्र सदस्य राष्ट्रविरुद्ध गरेको हतियारबन्द आक्रमण पूर्ण रूपमा अकारण हो,” रूसी प्रतिनिधिले भने, “यो कदम इरानको आन्तरिक मामिलामा हस्तक्षेप र पश्चिमालाई नमनि परेको यस राज्यलाई ध्वस्त पार्ने उद्देश्यले गरिएको छ।”
रूसी प्रतिनिधिका अनुसार वासिङ्टन र पश्चिमी यरूशलेमको यो गैरजिम्मेवार कदमले सम्पूर्ण क्षेत्रमा स्थिति भयावह रूपमा बढाएको छ र यसले मानवीय तथा आर्थिक प्रलय निम्त्याउने जोखिम बढाएको छ। यस्तो अवस्थामा पश्चिमा मुलुकहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको कथित खतराको बहानामा इरानविरुद्धको आक्रमणलाई न्यायोचित ठहर्याउने प्रयास पूर्ण रूपमा निराधार रहेको रूसले जनाएको छ।
रूसले अमेरिका र इजरायललाई तत्काल आक्रामक कार्यहरू रोक्न आह्वान गर्दै अन्तर्राष्ट्रिय कानून, पारस्परिक सम्मान र हितको सन्तुलनका आधारमा राजनीतिक तथा कूटनीतिक समाधानको तत्काल थालनी गर्न माग गरेको छ।
मानवाधिकारका मुद्दाहरूलाई राजनीतिकरण गर्ने प्रयासहरूप्रति रूसले कडा भत्र्सना गरेको छ। “मानवअधिकारको मुद्दा ‘सामूहिक पश्चिम’ का लागि बाहिरबाट थोपरिएको मार्ग नअपनाउने राष्ट्रहरूमाथि दबाब सिर्जना गर्ने एउटा हतियार बनेको छ,” रूसी प्रतिनिधिले भने, “इरानको उदाहरणले पश्चिमा मुलुकहरूले छद्म मानवीय बहानामा आफूलाई नमनि परेका राज्यहरूलाई अस्थिर बनाउने दीर्घकालीन नीति कसरी निरन्तर रूपमा अघि बढाइरहेका छन् भन्ने देखाउँछ। राजनीतिक कारणले अरूलाई कलङ्कित गर्ने प्रवृत्तिले मानवअधिकार परिषद्सहित संयुक्त राष्ट्रका निकायहरूको विश्वसनीयता नै ध्वस्त पार्छ।”
रूसले यस दुष्ट प्रवृत्तिलाई अन्त्य गर्न आह्वान गरेको छ।





