होर्मुज जलडमरुमा अमेरिकी आक्रमण तीव्र
इरानी मिसाइल ठेगानामा ५ हजार पाउन्डका बम प्रहार, ट्रम्प भन्छन्- 'हमला रोक्न तयार छैनौं'

वासिङ्टन / अमेरिकी सेनाले होर्मुज जलडमरु नजिक इरानको तटीय क्षेत्रमा रहेका मिसाइल ठेगानाहरूमा आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जनाएको छ। सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा भनेको छ, “केही घण्टाअघि अमेरिकी सेनाले होर्मुज जलडमरु नजिक इरानको तटीय क्षेत्रमा रहेका कडा इरानी मिसाइल ठेगानाहरूमा धेरै ५ हजार पाउन्डका डीप पेनेट्रेटर हतियार सफलतापूर्वक प्रयोग गरेको छ।” यी ठेगानामा रहेका इरानी जहाज-विरोधी क्रूज मिसाइलहरूले जलडमरुमा अन्तर्राष्ट्रिय ढुवानीलाई जोखिममा पारेको अमेरिकी सेनाले जनाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै वासिङ्टन तेस्रो हप्तामा प्रवेश गरिसकेको इरानमाथिको हमला रोक्न ‘तयार नभएको’ बताए। ट्रम्पले होर्मुज जलडमरुमा संयुक्त सुरक्षा अभियानको आफ्नो माग अधिकांश नेटो सदस्य र अमेरिकी सहयोगीहरूले अस्वीकार गरेको स्वीकार गर्दै नेटोको निर्णयप्रति ‘निराश’ भएको बताए। उनले जापान, अस्ट्रेलिया र दक्षिण कोरियाले पनि उनको आह्वान अस्वीकार गरेको जनाए।
इरानी संसदका अध्यक्ष मोहम्मद-बाघेर गालिबाफले मंगलबार एक्समा पोस्ट गर्दै होर्मुज जलडमरु ‘युद्धपूर्वको स्थितिमा फर्कने छैन’ तर थप विवरण भने दिएनन्। जेपी मोर्गनको हालैको एक प्रतिवेदनमा विश्लेषकहरूले होर्मुज जलडमरु पूर्ण रूपमा बन्द भएमा मध्यपूर्वका तेल उत्पादकहरूले ‘अधिकतम २५ दिनभन्दा बढी’ उत्पादन कायम राख्न सक्ने चेतावनी दिएका छन्।
साउदी अरेबिया, इराक, कतार र संयुक्त अरब इमिरेट्स इरानसँगै यो साँघुरो मार्गमा निर्भर छन् आफ्नो कच्चा तेल निर्यात गर्न। इरानी विदेशमन्त्री अब्बास अराग्चीले गत सप्ताह अमेरिकी सञ्चार माध्यमलाई बताए अनुसार अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूका जहाजबाहेक अन्तर्राष्ट्रिय ढुवानीका लागि जलडमरु खुला रहेको छ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा ठूलो मात्रामा आक्रमण सुरु गरेका थिए। जसले विश्वव्यापी ढुवानी प्रभावित बनाएको छ, तेलको मूल्य आकासिएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ।





