लेबनानमा मानवीय संकट गहिरियो: एक लाखभन्दा बढी विस्थापित, संयुक्त राष्ट्रसंघको राहत अभियान तीव्र

काठमाडौं – इजरायली आक्रमणबाट प्रभावित लेबनानमा विस्थापित परिवारहरूका लागि संयुक्त राष्ट्रसंघ र मानवीय सहायता निकायहरूले खाद्यान्न, आश्रय, पानी, स्वास्थ्य सेवा र पोषण सहायता उपलब्ध गराउने कार्यलाई तीव्रता दिएका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले बुधबार यसको जानकारी दिएको हो।
ओसीएचएका अनुसार सार्वजनिक स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा परी ९१२ जनाको मृत्यु भएको छ भने २ हजार २ सयभन्दा बढी घाइते भएका छन्। रातभर र बिहानैसम्म भएका आक्रमणमा मध्य बेरूतमा थप मानवीय क्षति भएको बताइएको छ। बाशौरा क्षेत्रको बहुतले भवन भत्किएको छ भने जोकाक अल-ब्लाट र बास्ता क्षेत्रका आवासीय क्षेत्रहरू पनि प्रभावित भएका छन्।
कार्यालयका अनुसार अहिले ३ लाख ६७ हजार बालबालिकासहित १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। इजरायली रक्षा बलले बुधबार नै दक्षिणी सहर टायर र नजिकैका प्यालेस्टिनी शरणार्थी शिविरहरूका लागि विस्थापन आदेश जारी गरेपछि अब नागरिकहरूलाई जहरानी नदीभन्दा उत्तरतर्फ सर्न निर्देशन दिएको छ।
स्वास्थ्य क्षेत्रमा समेत आक्रमण जारी रहेको ओसीएचएले जनाएको छ। बुधबार नै तीन सरकारी अस्पतालहरू इजरायली आक्रमणमा परी क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) र साझेदार संस्थाहरूले लेबनानका सबै प्रदेशका सामूहिक शिविरहरूमा हजारौं सिरक, सुत्ने चटाई, कम्बल, सौर्य बत्ती र अन्य सामग्रीहरू वितरण गरेका छन्। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र साझेदारहरूले शिविरहरूमा हजारौं सरसफाइ र महिनावारी स्वच्छता किटहरू वितरण गरेका छन् भने लाखौं लिटर सफा पानी उपलब्ध गराएका छन्। सार्वजनिक पानी आपूर्ति सेवा कायम राख्न ३ लाख ५० हजार लिटरभन्दा बढी इन्धन पनि उपलब्ध गराइएको छ।
पोषणतर्फ, साझेदार संस्थाहरूले पाँच वर्षमुनिका करिब ८ हजार बालबालिका, किशोरी तथा गर्भवती र स्तनपान गराउने महिलाहरूलाई एक महिनाका लागि पोषण सामग्री उपलब्ध गराएको ओसीएचएले जनाएको छ।





