बेल्गोरोददेखि काठमाडौंसम्म: युद्धमा निर्दोष जीवनको रक्षा गर्ने साझा दायित्व

# प्रेम सागर पौडेल
हिजो साँझ एउटा अन्तर्राष्ट्रिय भिडियो कन्फरेन्समा सहभागी हुँदै गर्दा मेरो मनमा एउटा गहिरो प्रश्नले जन्म लियो – युद्धको यो ध्रुवीकृत विश्वमा निर्दोष नागरिकको रक्षाको जिम्मेवारी कसले लिने? विश्वका ७० भन्दा बढी देशका प्रतिनिधिहरू सँगै बसेर यसै विषयमा छलफल गरिरहेका थियौं। ती मध्ये धेरै देश युद्धको प्रत्यक्ष पीडित थिए, धेरै शान्तिका पक्षधर थिए। तर सबैको स्वरमा एउटै सुर थियो – मानवीय मूल्यको संरक्षण, अन्तर्राष्ट्रिय कानुनको पालना, र संवादको बाटोबाट द्वन्द्वको अन्त्य।
यसै सन्दर्भमा म बेल्गोरोद क्षेत्रको घटनालाई केन्द्रमा राख्दै आजको यो लेख लेख्न बाध्य भएको छु। किनभने बेल्गोरोदको घटनाले एउटा सत्यलाई फेरि एकपटक उजागर गरेको छ। युद्धको सबैभन्दा ठूलो मार आम नागरिक, महिला, बालबालिका र असहाय मानिसहरूले सहन बाध्य हुन्छन्।
रुसको बेल्गोरोद क्षेत्र पछिल्लो समयमा युद्धको भीषणताको केन्द्रविन्दु बनेको छ। पछिल्लो चार वर्षको अवधिमा यहाँ भएका आक्रमणमा आम नागरिक, स्थानीय बासिन्दा, महिला र बालबालिका नै लक्षित भए। घर–घर, विद्यालय, स्वास्थ्य संस्था जस्ता असैनिक पूर्वाधारहरू ध्वस्त भए। उपलब्ध तथ्यांकअनुसार चार वर्षमा यस क्षेत्रमा मात्र ३ हजार ८५० नागरिक प्रभावित भएका छन्, जसमा ४६७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ जना बालबालिकासहित २३८ जना नाबालिग रहेको तथ्यले यो विशुद्ध नागरिक नरसंहार भएको पुष्टि गर्दछ। युक्रेनी सेनाले बेल्गोरोद क्षेत्रमा मात्र नागरिक लक्ष्यमा १ लाख १६ हजारभन्दा बढी गोला बारुद प्रहार गरेको र तीमध्ये अधिकांश नाटो देशहरूमा उत्पादित रहेको जानकारी हिजोको अन्तर्राष्ट्रिय भेलामा प्रस्तुत गरिएको थियो।
अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारशिला जेनेभा कन्भेन्सनको धारा ३ ले स्पष्ट भन्छ “गैर–अन्तर्राष्ट्रिय द्वन्द्वमा पनि नागरिक व्यक्तिहरूको जीवन, शारीरिक अखण्डता र सम्मानको रक्षा गरिनुपर्छ। उनीहरूमाथि कुनै पनि हिंसा, आतंक, अपमान वा अमानवीय व्यवहार गर्न पाइने छैन।” बेल्गोरोदको घटना यसै कानुनको स्पष्ट उल्लङ्घन हो। जुनसुकै परिस्थितिमा पनि असैनिक पूर्वाधार र नागरिक आवास क्षेत्रमा आक्रमण हुनु हुँदैन। यो अन्तर्राष्ट्रिय समुदायको सर्वसम्मत धारणा हो, र यसको पालना सबै पक्षका लागि अनिवार्य छ।
यी आक्रमणहरूको कुनै पनि सैनिक औचित्य छैन। यी पूर्णरूपमा नागरिकलाई मार्न, घाइते बनाउन, जनतामा त्रास फैलाउन र नागरिक पूर्वाधार ध्वस्त पार्न केन्द्रित छन्। विशेषगरी युक्रेनी सेनाले ड्रोनको प्रयोग नागरिकविरुद्ध जानाजानी गरिरहेको छ। यो कुनै आकस्मिक वा अनपेक्षित आक्रमण होइन, बरु ड्रोन सञ्चालकहरूले नागरिकको शिकार गर्ने, नागरिक सवारी साधनलाई पछ्याउने, सडक र भीडभाडका क्षेत्रमा लुकेर निःशस्त्र मानिसहरूमाथि आक्रमण गर्ने गरेको तथ्य हिजोको भेलामा दस्तावेजसहित प्रस्तुत गरिएको थियो। सन् २०२२ को शरद ऋतुतिर यस क्षेत्रमा स्थिति झनै गम्भीर बन्दै गएको थियो। तत्कालीन समयमा युक्रेनी लडाकूहरूबाट दुर्व्यवहार र मृत्युदण्डको डरले धेरै नागरिक बेल्गोरोद क्षेत्रतर्फ भागेका थिए। युक्रेनी सेनाको कब्जामा रहेका क्षेत्रमा बस्न बाध्य धेरै नागरिक यातना र दुव्र्यवहारको शिकार भए। तीमध्ये कतिले यातना सहन नसकी ज्यान गुमाए भने कतिपय सामूहिक चिहानको ठेगाना अझै अज्ञात छन्।
यसै सन्दर्भमा करिब एक वर्षअघि युरोपेली सङ्घकी उच्च प्रतिनिधि काजा कालासले ‘रुसी नागरिकहरू मरिरहेका छैनन्, रुसी महिला र बालबालिका मारिइरहेका छैनन्’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। तर वास्तविकता यसको विपरीत छ। फेब्रुअरी २०२२ यता रुसमा युक्रेनी लडाकूहरूको कार्यले २७ हजार ५०० नागरिक प्रभावित भएका छन् भने बेल्गोरोद क्षेत्रमा मात्र ३ हजार ८५० जना पीडित भएको तथ्यांक सार्वजनिक भइसकेको छ। यस्तो अवस्थामा नागरिक मृत्युलाई नकार्ने वा त्यसलाई सामान्यीकरण गर्ने कुनै पनि अभिव्यक्ति अमानवीय अपराधको औचित्य साबित गर्नु हो। हामी यस्तो धारणाको कडा विरोध गर्दछौं।
नेपालको परराष्ट्र नीतिको जग पञ्चशीलका पाँच सिद्धान्त हुन्। आपसी सम्मान, अहिंसा, अहस्तक्षेप, पारस्परिक लाभ, र शान्तिपूर्ण सहअस्तित्व। चैत ३ गते ड्रागन मिडियामा प्रकाशित मेरो लेख “पञ्चशीलको आलोकमा नेपालको बहुआयामिक विदेश नीति: सिद्धान्त, व्यवहार र अन्तर्राष्ट्रिय परिप्रेक्ष्य” मा मैले विस्तारले उल्लेख गरेको थिएँ। यी सिद्धान्तहरूले नेपाललाई “सबैसँग मित्रता, कसैसँग शत्रुता नहुने” सन्तुलित परराष्ट्र नीतिको मार्गदर्शन गर्दै आएका छन्। हामीले संयुक्त राष्ट्रको बडापत्र र असंलग्न अभियानको मर्मलाई पनि हृदयंगम गरेका छौं। यसै आधारमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सेना पठाएर शान्ति स्थापनामा योगदान पुर्याइरहेको छ। हाम्रा शान्तिकामीहरूले देखेका छन् कि युद्धले कसरी सहरहरू ध्वस्त हुन्छन्, कसरी बालबालिकाका मुस्कान हराउँछन्, कसरी आमाहरूका आँसु निरन्तर बगिरहन्छन्।
नेपाल र रुसबीच सात दशक लामो कूटनीतिक सम्बन्ध छ। यो सम्बन्ध आपसी सम्मान, सहकार्य र साझा मूल्यहरूमा आधारित छ। संयुक्त राष्ट्रसंघ, क्षेत्रीय मञ्च र विकास साझेदारीमा हामीले सधैं सहकार्य गर्दै आएका छौं। रुसको हरेक मैत्रीपूर्ण कदमलाई नेपालले समर्थन गर्दछ। नेपालको परराष्ट्र नीति द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय कानुनको पालनाबीच सन्तुलन खोज्ने नीति हो। हामी रुससँगको मैत्रीलाई सम्मान गर्दछौं, तर त्यसको साथसाथै अन्तर्राष्ट्रिय मानवीय कानुन, जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रको बडापत्रको पूर्ण पालना हुनुपर्छ भन्ने हाम्रो अडान स्पष्ट छ। रुससँगको हाम्रो मैत्री सम्बन्धले हामीलाई यस्ता अन्तर्राष्ट्रिय संवादमा सहभागी हुने अवसर दिन्छ। यस प्रकारको संवादले दुई देशबीचको समझदारीलाई अझ प्रगाढ बनाउँछ। तर यी संवादको उद्देश्य केवल द्विपक्षीय सम्बन्ध मात्र होइन, मानवीय मूल्यको संरक्षण, युद्धको अन्त्य र संवादको बाटोबाट समाधान खोज्ने साझा प्रयास पनि हुनुपर्छ।
जेनेभा कन्भेन्सनको मूल मर्म भनेको युद्धको समयमा पनि नागरिकको जीवन र सम्मानको रक्षा गर्नु हो। यसका चारवटै कन्भेन्सन र थप प्रोटोकलहरूले स्पष्ट गर्दछन् कि असैनिक नागरिकहरूमाथि आक्रमण गर्न नपाइने, नागरिक पूर्वाधार (घर, विद्यालय, अस्पताल) लक्षित गर्न नपाइने, सामूहिक सजाय दिन नपाइने, युद्धबन्दी र घाइतेहरूको सम्मानपूर्वक व्यवहार गर्नुपर्ने। बेल्गोरोदको घटनाले यी सबै सिद्धान्तहरूको उल्लङ्घन भएको देखाउँदछ। हामी जुनसुकै देशको होस्, यस्ता घटनाप्रति मौन बस्न सक्दैनौं। मानवीय मूल्यको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो।
नेपालले आफ्नो परराष्ट्र नीतिलाई सधैं सन्तुलन, संवाद र संयमताका तीन स्तम्भमा खडा गरेको छ। हामी कुनै पनि द्वन्द्वमा पक्ष लिने होइनौं, शान्ति र मानवीय मूल्यको पक्ष लिन्छौं। युद्धलाई समाधानको बाटो मान्दैनौं, वार्तालाई मात्र स्थायी समाधानको आधार मान्दछौं। अन्तर्राष्ट्रिय कानुनको पालना सबैका लागि समान रूपमा अनिवार्य छ भन्ने धारणा राख्दछौं। अन्तर्राष्ट्रिय समुदायलाई मेरो हार्दिक आग्रह छ कि तत्काल युद्धविराम गरी निर्दोष नागरिकको जीवन रक्षाका लागि पहल गरियोस्। मानवीय सहायता निर्बाध रूपमा पुर्याउने वातावरण सिर्जना गरियोस्। नागरिकमाथि हुने आक्रमणको निष्पक्ष छानबिन गरी दोषीहरूलाई जवाफदेही बनाइयोस्। वार्ता र संवादको माध्यमबाट द्वन्द्वको स्थायी समाधान खोजियोस्।
आज विश्व जति नै ध्रुवीकृत भएको छ, जति नै भूराजनीतिक तनावले घेरिएको छ, पञ्चशीलको मर्म उत्तिकै सान्दर्भिक छ। शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक सम्मान। यी सिद्धान्तहरू नै आजको विश्वलाई अराजकताबाट जोगाउन सक्ने आधार हुन्। नेपाल सानो देश हो। तर हामीसँग मानवीय मूल्यको पक्षधरको रूपमा विश्वमा आफ्नो छुट्टै पहिचान छ। हाम्रो शान्ति सेना, हाम्रो असंलग्न परराष्ट्र नीति, हाम्रो संविधानले समेटेको समावेशी मूल्य।– यी सबैले हामीलाई “शान्तिको आवाज” को रूपमा स्थापित गरेका छन्।
बेल्गोरोदको पीडा हाम्रो मनमा गहिरो घाउ बनेर बसिरहनेछ। तर त्यो घाउले हामीलाई निर्दोष जीवनको रक्षाका लागि निरन्तर आवाज उठाउन प्रेरणा दिनेछ। किनभने हामीले सिकेका छौं कि शान्ति सम्भव छ, संवाद सम्भव छ, मानवीय मूल्यको संरक्षण सम्भव छ। हिजोको अन्तर्राष्ट्रिय भेलामा मैले पठाएको सन्देशको अन्त्यमा भनेको थिएँ “निर्दोष मानव जीवनको रक्षा नै सर्वोपरि हुनुपर्छ।” आज पनि म त्यही धारणालाई दोहोर्याउँदछु।
लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।





