सीमैदेखि रेलमार्गसम्म : चिनियाँ बजार कब्जा गर्ने दौडमा डुरियनको नयाँ अध्याय

गुआङ्सी, चीन । भियतनामसँग सीमा जोडिएको पिङसियाङस्थित फलफूल केन्द्रमा हालै सम्पन्न मे दिवसको बिदामा पर्यटक र थोक व्यापारीहरू मिलेर सजाइएका डुरियनका थाक अगाडि भीड लागेको थियो। ताजा स्वाद र अरूत्र पाउनै मुस्किल मूल्यको प्रलोभनले उनीहरू तानिएका हुन्।
स्थानीय स्टल सञ्चालक लिउ सियान भन्छन्, “धेरै आगन्तुक सीमावर्ती अनुभव लिन आउँछन् र उत्कृष्ट उपहारका रूपमा डुरियन किनेर लैजान्छन्।” तर उद्योग विश्लेषकहरू यसलाई मौसमी क्रेज मात्र नभई संरचनागत परिवर्तनको संकेत मान्छन्।
गुआङ्सीकी अनुभवी डुरियन व्यापारी ग्वान चाइसिया भन्छिन्, “चिनियाँ उपभोक्ता जति ज्ञानी हुँदै गएका छन्, बजार एकरूपताबाट तहगत मूल्य निर्धारणमा गइसकेको छ।” उनका अनुसार उपभोक्ताले अब डुरियनको जात, पाकेको अवस्था र गुदीको बनावटसम्म बुझ्न थालेका छन्।
सन् २०२५ मा चीनले कीर्तिमानी १८ लाख ६८ हजार टन ताजा डुरियन आयात गर्यो। परिमाणमा भियतनामले ५१ प्रतिशत बजार हिस्सा ओगटे पनि कूल मूल्यका हिसाबले थाइल्यान्ड अग्रस्थानमै छ। ‘गोल्डेन पिलो’ अर्थात् सुनौलो तकिया नामले प्रख्यात मन्थोङ जातको प्रतिष्ठाले थाई डुरियनको मूल्य कायम राखेको छ।
चीनको बढ्दो मागसँगै दक्षिणपूर्वी एसियाली उत्पादकहरूले प्रतिस्पर्धी बन्न विशेष रणनीति अपनाइरहेका छन्। नानिङस्थित थाई महावाणिज्य दूतावासका वाणिज्य सल्लाहकार निती प्रतुमवोङसा भन्छन्, “हाम्रो शक्ति लामो अनुभव, अन्तर्राष्ट्रियस्तरको गुणस्तर नियन्त्रण र चीनकै लागि बनाइएको विशेष आपूर्ति शृङ्खला हो।” उनका अनुसार थाई सरकारले खेतदेखि बन्दरगाहसम्मै राम्रो कृषि अभ्यास लागू गर्छ र चिनियाँ निरीक्षकसँग मिलेर विषादी अवशेषको निगरानी गर्छ।
थाइल्यान्डकै चारोइन पोकफान्ड समूहकी ह्वाङ मेइसियाका अनुसार थाई निर्यातकर्ताहरूले अब डुरियनलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गर्छन्। चारदेखि पाँचवटा पूर्ण कोष भएको ए श्रेणीको डुरियन बजारको रानी मानिन्छ। यसले पुराना र नयाँ दुवै किसानलाई गुणस्तरीय खेती र प्रविधिमा लगानी गर्न उत्प्रेरित गरेको उनले बताइन्।
यसैबीच, इन्डोनेसिया पनि डुरियन बजारको उदीयमान खेलाडी बन्दै छ। देशले २४० वटा ‘डुरियन गाउँ’ स्थापना गरेको छ र वास्तविक समयमा बगैंचा अनुगमनका लागि स्मार्ट प्रविधि भित्र्याएको छ। गत जनवरीमा इन्डोनेसियाली फ्रोजन डुरियनको पहिलो कन्टेनर गुआङ्सीको चिनझोउ बन्दरगाह आइपुग्यो— ८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ बजारमा हिस्सा खोज्ने महत्वाकांक्षाको संकेत।
फस्टाउँदो व्यापारको मेरुदण्ड भने द्रूत गतिमा विकास भइरहेको यातायात सञ्जाल हो। चीन–लाओस रेलमार्ग हुँदै थाई डुरियन अहिले युनान प्रान्तको राजधानी कुनमिङमा जम्मा २६ घण्टामै पुग्छ। मुख्य सिजनमा दैनिक दुईबाट बढाएर ६ वटासम्म रेल गुड्छन्, जसले ‘फलफूलको राजा’ लाई ४८ घण्टाभित्रै चीनका ३० भन्दा बढी सहरमा पुर्याउँछ।
गुआङ्सीकै आपूर्ति शृङ्खला व्यवस्थापन कम्पनी टीडब्लूटीका अध्यक्ष वाङ झेङ्बो भन्छन्, “डुरियन आपूर्ति धेरै हदसम्म स्थिर भइसकेको छ। अहिले वर्षैभरि झन्डै पाइन्छ।” उनका अनुसार चीनमा अझै डुरियन बजार पूर्ण संतृप्त भइसकेको छैन, किनकि उपभोक्ता आधार करोडौंबाट १० करोडभन्दा माथि पुगिसकेको छ।
आपूर्ति शृङ्खलादेखि गुणस्तर नियन्त्रणसम्म चिनियाँ कृत्रिम बुद्धिमत्ता प्रविधिले डुरियन व्यापारमा उपस्थिति जनाउन थालेको उद्योग विज्ञहरू बताउँछन्। दीर्घकालीन दृष्टिकोण निर्विवाद रूपमा आशावादी छ— विश्व डुरियन व्यापारले प्रविधिमा आधारित नयाँ युगको संकेत गर्दै।





