‘कम बोल्ने देउवा’ को राजनीतिक यात्रा : जनआन्दोलनको सेनानीदेखि सम्पत्ति शुद्धीकरणको आरोपसम्म

काठमाडौं — नेपाली कांग्रेसका सभापति एवं पाँच पटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवा २२ मंसिर २०८१ मा पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका थिए। सोही कार्यक्रममा तत्कालीन महामन्त्री गगन थापाले ‘हाम्रो सभापति धेरै बोल्नुहुन्न’ भन्ने टिप्पणी गरेपछि देउवाले जवाफ दिएका थिए, “महामन्त्रीज्यूले धेरै कुरा भन्नुभयो, म एउटा मात्रै कुरा भन्छु– म कम बोल्छु। धेरै बोल्नेहरूले आफैंलाई घाटा पुर्याउँछन्। कम बोल्नेहरूले अरूलाई सक्काइदिन्छन्।” उक्त अभिव्यक्तिले देउवाको राजनीतिक व्यक्तित्वलाई परिभाषित गर्ने एउटा दुर्लभ सार्वजनिक क्षणको रूपमा अंकित भयो।
सुदूरपश्चिमको डडेलधुरा, रुवाखोलाबाट हिँडेरै काठमाडौं आएर राजनीति सुरु गरेका देउवा विद्यार्थी राजनीतिबाट उदाएर गृहमन्त्री हुँदै पटकपटक मुलुकको कार्यकारी प्रमुख बने। तर, ६ दशक लामो राजनीतिक यात्रामा उनले क्रमशः सत्तालाई नै सबैथोक ठान्ने शैली अँगालेको समकालीनहरूको विश्लेषण छ। पञ्चायतविरुद्धको आन्दोलन, जेल जीवन र लोकतन्त्र स्थापनाका लागि गरेको संघर्षले बनेको उनको राजनीतिक छवि पछिल्ला वर्षहरूमा सत्ता केन्द्रित गठबन्धन, पार्टी विभाजन र विवादास्पद निर्णयहरूले धमिलिँदै गयो।
देउवाको राजनीतिक उदयमा संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको संरक्षण निर्णायक मानिन्छ। २०४८ को निर्वाचनमा सुदूरपश्चिममा पार्टीलाई ऐतिहासिक जित दिलाएपछि उनी गिरिजाप्रसाद कोइरालाको सरकारमा गृहमन्त्री बने। त्यही बिन्दुबाट सुरु भएको उनको सत्तायात्रा २०५३ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि थप गतिशील बन्यो। यद्यपि, पहिलो कार्यकालमै संसदीय मर्यादा र सत्ता टिकाउन चालिएका कदमहरूले राजनीतिमा ‘प्राडो–पजेरो संस्कृति’ र सांसदहरूको खरिदबिक्रीको परम्परा बसालेको आरोप उनैमाथि लाग्ने गरेको छ।
२०५८ मा दोस्रो पटक प्रधानमन्त्री बनेपछि माओवादी विद्रोह नियन्त्रणका नाममा संकटकाल घोषणा र टाउकोको मूल्य तोक्ने विवादास्पद निर्णयहरूले उनको कार्यकाल विवादरहित रहेन। पार्टीभित्रको मतभेदले कांग्रेस विभाजित भयो र देउवाले छुट्टै पार्टी गठन गरे। २०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा देउवा बर्खास्त भए भने पछि भ्रष्टाचारको अभियोगमा जेल समेत परे।
यद्यपि, २०६४ मा पार्टी एकता भएपछि देउवा पुनः कांग्रेसको केन्द्रीय राजनीतिमा फर्किए र १३औं तथा १४औं महाधिवेशनबाट सभापति निर्वाचित भए। यसै अवधिमा उनको राजनीति पूर्णतः सत्ताकेन्द्रित बन्दै गयो। केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न माओवादीसँग मिलेर गरेको समीकरणदेखि पछि ओलीसँगैको ‘१५ असारको चिउरा कूटनीति’ सम्म आइपुग्दा देउवा कुशल सत्ता समीकरणका खेलाडीका रूपमा स्थापित भए।
२०७८ असारमा सर्वोच्च अदालतको परमादेशपछि पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा २०७९ को निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन सफल भए पनि सत्ता समीकरणको जोडघटाउमा प्रधानमन्त्री बन्न सकेनन्। उक्त निर्वाचनपश्चात् पुष्पकमल दाहाललाई विश्वासको मत दिएर संसदलाई प्रतिपक्षविहीन बनाउने उनको रणनीति संसदीय इतिहासकै दुर्लभ घटना बन्यो।
त्यसपछि देशले ‘जेन–जी’ आन्दोलन देख्यो, जसले सम्पूर्ण राजनीतिक समीकरण नै बदलिदियो। आन्दोलनकै क्रममा २४ भदौमा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गरे। घटनापछि त्यहाँबाट आधा जलेका नगदका बन्डलहरू फेला परेको सार्वजनिक भयो। आन्दोलनपश्चात् भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ऐतिहासिक रूपमा कमजोर बन्यो भने पार्टीभित्रै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनियो। २०४८ यताका सबै निर्वाचन जित्दै आएका देउवाले यसपटक भने टिकट नै पाएनन्।
हाल विदेशमा रहेका देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध पक्राउ पुर्जी समेत जारी गरिसकेको छ। देउवाले सामाजिक सञ्जालमार्फत आरोप अस्वीकार गर्दै ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने’ प्रतिक्रिया दिएका छन्।





