बस्तीमा डोजर चल्दा च्यातिएको चप्पलमा हिँड्ने कसाईको मन कुँडियो, गायत्रीलाई कहाँ बस्ने पीर

काठमाडौं — रातो काँडे चप्पल। दुवै चप्पल चुँडिएको छ। चुँडिएको चप्पललाई खुट्टामा अड्याउन डोरीले जोडिएको छ। चप्पल कहिले चुँडियो, त्यो थाहा भएन। तर, ५७ वर्षीय पाकचा तरिम कसाईको मन भने शनिबार थाम्नै नसक्ने गरी कुँडियो। थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनको घरमा डोजर चल्यो। बस्तीमा डोजर चल्नुको अर्थ, घर बाँकी रहने कुरै भएन।
शनिबार बिहानै उनी उठ्नुअघि नै प्रहरी बस्तीमा पसिसकेको थियो। केही समय हट्न माइकिङ गरियो। उनका घरका सामान निकालियो। लगत्तै डोजर हानियो। बिहान १० बजेतिर उनी भत्काइएको बस्तीछेउको सडकमा उभिएर डोजरको तमासा हेरिरहेका थिए, त्यही बेला देशसञ्चारको टोलीसँग भेट भयो। ‘बोल्नुहुन्छ?’ भन्ने प्रश्नमा उनी बोल्न सकिरहेका थिएनन्। ‘के बोल्नु?’ उनले प्रतिप्रश्न गरे। तर यत्ति बोले, ‘केही सामान निकालियो मेरो। केही भित्रै छ।’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भइसकेको थियो। ‘घर छैन। कहाँ गएर बस्ने? सामान कहाँ राख्ने?’ आँखाका आँसु पुछ्दै कसाईले भने।
उनी १२ वर्ष पहिले छातीको बिरामी भएपछि काम गर्न सक्दैनन्। ‘१२ वर्ष पहिले बिरामी भएपछि काम गर्न पनि सक्दिन। म यस्तो (जोडर चलेपछि) भएपछि मात्र बाहिर निस्केको हो,’ उनले भने। उनीसँग श्रीमतीसहित दुई छोराछोरी पनि छन्।


यता, सडकमा पकाउने भाँडाकुँडादेखि सुत्ने खाटसम्म असरल्ल छरिएका थिए। तिनै सामान मिलाउँदै थिइन् गायत्री श्रेष्ठ (तामाङ)। बस्ती भत्काउने भएपछि बिहान छिट्टै खाना खाएर उनी थापाथलीको बस्तीबाट सडकमा निस्किएकी थिइन्। आफू बसेको घरमा डोजर चलिरहेको दृश्य हेरिरहेकी उनलाई बस्ती भत्काएकोमा कुनै दुखेसो छैन, तर सरकारले अब कहाँ बसाउँछ भन्ने पीर भने छ। उनी थापाथली क्षेत्रमै बसेर अर्काको घरमा काम गर्थिन्। त्यही कमाइको ५/७ हजारले खानाको जोहो हुन्थ्यो। आँखाको समस्याले श्रीमान् डम्बरबहादुर तामाङ काम गर्न सक्दैनन्। छोराछोरी सानै छन्।
स्थायी घर भोजपुरको अरुण गाउँपालिका–१ हो। तर, उत्पादन गरेर खाने ठाउँ छैन। खानेपानी छैन। आफ्नो घरदेखि अर्काको घर पुग्न एक घण्टा लाग्छ। विद्यालय पनि टाढा छ। त्यसैले भोजपुर फर्किने अवस्था छैन। श्रीमान्को आँखा जाँच गराइरहनुपर्ने बाध्यताले पनि फर्किने सपना देख्न सकेकी छैनन्। डम्बरले पैसा अभावमा आँखाको अप्रेसन गर्न नसकेको बताए। गायत्री र डम्बरलाई अब सरकारले कसरी व्यवस्थापन गर्छ भन्ने अन्योल छ।
कसाई र गायत्रीका श्रीमान् जस्तै शनिबार थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुम्बासीहरूले चुपचाप डोजरले बस्ती कोतरेको हेरे। यसअघि प्रतिकार गरेरै बस्दै आएकामा यसपटक प्रधानमन्त्री बालेन्द्र शाहकै सक्रियतामा डोजर हानिएपछि उनीहरूले केही गर्न सकेनन्। बस्तीमा डोजर हान्दा प्रहरीको ठूलो सङ्ख्या, काठमाडौं महानगरको सुरक्षा संयन्त्र र सशस्त्र प्रहरीको उपस्थिति थियो। सेनाले स्वीकार नगरे पनि गाडीबाट गस्ती गरेको थियो।
तीन दिनअघि नै जिल्ला प्रशासनले बस्ती खाली गर्न सूचना जारी गरेपछि केही सूचनाकै अवधिमा बस्ती छाडिसकेका थिए। जोसँग केही थिएन, उनीहरू डोजर बस्ती पस्दासम्म सामान निकाल्न तयार थिएनन्। तर सुरक्षाकर्मीले उनीहरूको सामान बाहिर निकालिदिए। यसपटक झडपको स्थिति भने दोहोरिएन।
सुकुम्बासी बस्तीमा सुकुम्बासीभन्दा अन्य व्यक्तिले रजाइँ गरेको आरोप लाग्दै आए पनि यकिन तथ्य सरकारसँग छैन। सरकारले को सुकुम्बासी हो भन्ने निर्क्योल बस्तीबाट उठिबास भएकालाई दशरथ रङ्गशाला लगेर गर्यो। जो रङ्गशालामा सहारा खोज्दै गए, उनीहरूलाई अस्थायी बसोबासका लागि सरकारले व्यवस्था गरेको छ। तर, सामान निकाल्दा कहाँ लैजाने भन्ने केही नभनेको विस्थापितहरूले बताए। ‘हाम्रो सामान निकालियो। तर कहाँ लैजाने भन्ने केही भनिएको छैन। गाडी पनि आएको छैन,’ गायत्रीले भनेकी थिइन्। पछि उनलाई महानगरको गाडीले उठाएर लग्यो।
सरकारी स्रोतका अनुसार सुकुम्बासी बस्तीमा बसेकामध्ये तीन प्रतिशत मात्र वास्तविक सुकुम्बासी हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार समाचार तयार पार्दासम्म थापाथलीका ६८ परिवार सुकुम्बासी भन्दै सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई काठमाडौंका विभिन्न होटलमा राख्ने तयारी भएको जनाइएको छ। सरकारले वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राख्ने र त्यसपछि दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।





